arrow

मुगु सामूहिक हत्या

घरका चार जनाको हत्यापछि विक्षिप्त दीपक अस्पतालबाटै बेपत्ता

logo
नृपेन्द्र बहादुर मल्ल,
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
mugu-hatya-deepak.jpg

मुगु । मुगु स्थित छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा गत ८ गते बुधबार भएको सामूहिक हत्या प्रकरण झन् जटिल बन्दै गएको छ । 

सोमबार हत्या गरिएका आमा र ३ छोरा छोरीको शव परीक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने आफन्तको अडानकाबीच बिहीबार बिहान जिल्ला अस्पतालमा उपचाररत मृतक श्रीदेवीका श्रीमान् दीपक बोहरा अस्पतालबाट निस्केर बेपत्ता भएपछि सामूहिक हत्या अनुसन्धान झन् जटिल मोडमा गएको हो ।

घरका चार चार जना सदस्यहरूको सामूहिक हत्या भएपछि गत ११ गते वैदेशिक रोजगारीमा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्केका थिए । मानसिक रूपमा विक्षिप्त भएर कुनै अप्रिय घटना नघटोस् र होस सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै कान्छा ससुरा वडा न ६ का वडा अध्यक्ष खेम बहादुर रावलको जिम्मा लगाएको थियो ।

बुधवार बिहान जिल्ला प्रहरी कार्यालयमा प्रहरी माथि ढुङ्गा बर्षाएका दीपक बेलुका ५ बजे भागेका थिए । प्रहरीले कार्की वाडा खोलाबाट समाएर साँझ आफन्तहरूले जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरेका थिए । बिहीबार बिहानै उनी अस्पतालबाट हिँडे छन् सबै तिर प्रहरी,स्थानीय सबैले खोजिरहेका छौ बिहीबार साँझ ६ बजेसम्म दीपकको पत्तो लागेको छैन कर्णाली प्रदेश प्रहरी कार्यालय वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) तथा सूचना अधिकारी गोपाल चन्द्र भट्टराईले जानकारी गराए ।

पोष्टमाटम गरेर अस्पतालमा राखिएका शवहरू बिहीबार श्रीमान् दीपकलाई बुझाएर दाहसंस्कार गर्ने तयारी गर्दै गर्दा श्रीमान् नै बेपत्ता भएपछि अन्यौल सृजना भएको छ । एक त सामूहिक हत्या भएको हप्ता दिन बितिसक्दा पनि हत्यारा पत्ता नलागिरहेको बेला त्यसै माथि श्रीमान् समेत बेपत्ता भएपछि प्रहरीलाई अनुसन्धान गर्न झनै अप्ठेरो परेको छ ।

गत ७ गते माइती कोटिल्ला गाउँ टीका थाप्न गएका २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, ८ वर्षीया छोरी अप्सरा बोहरा र ८ महिने छोरा रहर बोहरा गते साँझ माइतीबाट आफ्नो गाउँ मन्दु पुगेकै राती हत्या गरिएको प्रहरीले अनुमान गरेको छ । १० गते ९ बजे हत्या भएको सूचना पाउन बित्तिकै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा गएको टोलीले घर खोली भित्र हेर्दा आमा सहित ३ सन्तानको धारिलो हतियार प्रयोग गरि बीभत्स हत्या गरेको फेला पारेको थियो ।

हत्याको अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत,प्रहरी कार्यालय जुम्लाबाट विशेष अनुसन्धान प्रहरी र कोहलपुरबाट कुकुर सहितको अनुसन्धान टोली मुगु पुगेको कोमा ११ गते अनुसन्धान गरि १२ गते नै डक अनुसन्धान टोली फर्केयो भने अन्य २ टोली मुगु मै बसी अनुसन्धान गरिरहेका छन् ।

घटनाको प्रकृति,अनुसन्धानको पछिल्लो अवस्था बारे बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल मै आफै पुगी अनुसन्धानमा खटिइरहनु भएको छ । प्रहरीले घटना सम्बन्धी अनुसन्धान गर्न कयौँ व्यक्तिहरूसँग सोधपुछ गर्ने कार्य गरिरहेको छ । सोमबार चारै शवहरूको परीक्षण सकिएसँगै प्रहरी सूक्ष्म अनुसन्धानमा लागेको भट्टराईले बताए । 

प्रहरीले उक्त घटनाको अनुसन्धान प्रविधि र म्यानुल्ली दुबै तरिकाबाट अहिले गरिरहेको छ ।भौगोलिक कठिनाइ,नेट,फोनको नेटवर्कको समस्या,यातायातको असुविधा र स्थानीय गाउँलेहरू प्रहरीसँग खुल्ला मनले नखुल्नु जस्ता कारणले अनुसन्धानबाट हत्याको कारण र हत्यारा सम्बन्धी क्लु पाउन कठिनाइ र ढिला भएको पनि प्रहरीले बताउँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ