- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँमा जारी विश्वकप टी–२० एसिया छनोट क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेलिरहेको छ ।
मूलपानी क्रिकेट मैदानमा नेपालले टस हारेर पहिले बलिङ गरिरहेको छ । नेपालले पाँचौँ सफलता हासिल गरेको छ ।
–१५.५ ओभरमा १०० रन जोड्दा यूएईले पाँचौँ विकेट गुमायो । कप्तान रोहित पौडेलले अलि नसिरको विकेट लिए । कुशल भुर्तेलले क्याच गरे । नसिरले मात्र ४ रन बनाए ।
–१३.४ ओभरमा ८८ रन जोड्दा यूएईले चौथो विकेट गुमायो । अलिशान शराफु १४ बलमा १६ रन बनाएर आउट भए । कुशल मल्लले आउट गरेका हुन् । मल्लको बलमा सोमपाल कामीले क्याच गरेका थिए ।
–६२ रन जोड्दा यूएईले तेस्रो विकेट गुमायो । सन्दीप लामिछानेले आसिफ खानलाई व्यक्तिगत १३ रन बनाउँदा एलबीडब्ल्यू आउट गरे ।
–३० रन जोड्दा यूएईले दोस्रो विकेट गुमायो । सोमपाल कामीले कप्तान मुहम्मद वासिमलाई आउट गरेका हुन् । करण केसीले क्याच गरे । वासिमले १६ बलमा २६ रन बनाए ।
–२९ रन जोड्दा यूएईले पहिलो विकेट गुमायो । आफैँले बलिङ गरेका सोमपाल कामीले खालिद शाहलाई रनआउट गर्न सफल भए । खालिद ३ रन बनाएर आउट भएका हुन् ।
नेपाल समूहको उपविजेता हुँदै सेमिफाइनलमा अर्को समूहको विजेता यूएईलाई प्रतिद्वन्द्वी पाएको हो ।
विश्वकप एक दिवसीयकोसमेत अनुभव बटुलिसकेको यूएई अझै पनि नेपालजस्तै एसोसिएट राष्ट्रमै रहेर संघर्ष गरिरहेको छ ।
नेपालको भन्दा धेरै अनुभव भएको भए पनि नेपालले यूएईलाई नै हराएर एक दिवसीय विश्वकपको सिधै छनोट चरणमा प्रवेश गरेको थियो । यूएईलाई नै हराएर नेपालले एक दिवसीय मान्यतालाई कायम गरेको थियो भने यूएईलाई नै हराएर नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाएको थियो ।
अब फेरि यूएईलाई नै हराएर नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न चाहन्छ । यसअघि नेपाललाई नै हराएर टी–२० विश्वकप खेलेको यूएईमाथि घरेलु मैदानमा बदला लिएर विश्वकप खेल्नेमा विश्वस्त देखिएको छ ।
जारी विश्वकप छनोटअघि भएको त्रिकोणात्मक टी–२० मैत्रिपूर्ण प्रतिस्पर्धाको फाइनलमा नेपाल पराजित भएको भए पनि नेपाली टिमले आजको गर या मरको खेलमा सशक्त प्रदर्शन गरी दोस्रो पटक विश्वकपमा छानिन कुनै कसर बाँकी नराख्ने मुख्य प्रशिक्षक मोन्टि देसाई र कप्तान रोहित पौडेल बताउँछन् ।
नेपालले पहिलो पटक सन् २०१४ को बंगलादेश टी–२० विश्वकप खेलेको थियो भने एक दशकपछि सन् २०२४ को जुन ४ देखि ३० सम्म वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकप खेल्न आतुर देखिएको हो ।
नेपालको पछिल्लो ६ महिनाको मात्र नतिजालाई हेर्ने हो भने पनि यूएईले भन्दा निकै माथि फड्को मारिसकेको छ । यसले पनि घरेलु मैदान, आफ्नै दर्शक र टिमको बलियो क्षमताका कारण पनि नेपालको आजको परिणाम सकारात्मक आउने अपेक्षा गरिएको छ ।
अर्को सेमिफाइनलमा त्रिविविको मैदान कीर्तिपुरमा ओमान र बहराइन भिड्दै छन् । खेलमा छनोटको फाइनलमा पुग्ने दुवै टिम विश्वकपमा पुग्नेछन् ।
विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ ।
२०२४ को विश्वकपमा २० टिम सहभागी हुनेछन् ।