arrow

टी–२० विश्वकप छनोट

विश्वकपमा छानिन नेपाल यूएईले दिएको १३५ रनको चुनौती पछ्याउँदै

दोस्रो पटक विश्वकप खेल्न नेपाल आतुर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १७ शुक्रबार
nepal-cricket-2024a.jpg

काठमाडौँ । काठमाडौँमा जारी विश्वकप टी–२० एसिया छनोट क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले चिरपरिचित प्रतिद्वन्द्वी यूएईसँग खेलिरहेको छ । 

मूलपानी क्रिकेट मैदानमा जितका लागि नेपालले १३५ रनको चुनौती पछ्याउँदै छ । यो सामान्य योगफल पूरा गरे नेपाल दोस्रो पटक विश्वकपमा छनोट हुनेछ । 

यसअघि टस जितेर यूएईले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा १३४ रन बनायो । 

भृत्तिय अरविन्दले सर्वाधिक ६४ रन बनाए । त्यस्तै कप्तान मुहम्मद वासिमले २६ तथा अलिशान शराफूले १६ रन जोडे । 

नेपालका लागि कुशल मल्लले ११ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १–१ विकेट लिए । 

उत्कृष्ट फिल्डिङ गरेको नेपालले दुई खेलाडीलाई रनआउट गरेको थियो । 

नेपाल समूहको उपविजेता हुँदै सेमिफाइनलमा अर्को समूहको विजेता यूएईलाई प्रतिद्वन्द्वी पाएको हो । 

विश्वकप एक दिवसीयकोसमेत अनुभव बटुलिसकेको यूएई अझै पनि नेपालजस्तै एसोसिएट राष्ट्रमै रहेर संघर्ष गरिरहेको छ । 

नेपालको भन्दा धेरै अनुभव भएको भए पनि नेपालले यूएईलाई नै हराएर एक दिवसीय विश्वकपको सिधै छनोट चरणमा प्रवेश गरेको थियो । यूएईलाई नै हराएर नेपालले एक दिवसीय मान्यतालाई कायम गरेको थियो भने यूएईलाई नै हराएर नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्न पाएको थियो । 

अब फेरि यूएईलाई नै हराएर नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्न चाहन्छ । यसअघि नेपाललाई नै हराएर टी–२० विश्वकप खेलेको यूएईमाथि घरेलु मैदानमा बदला लिएर विश्वकप खेल्नेमा विश्वस्त देखिएको छ । 

जारी विश्वकप छनोटअघि भएको त्रिकोणात्मक टी–२० मैत्रिपूर्ण प्रतिस्पर्धाको फाइनलमा नेपाल पराजित भएको भए पनि नेपाली टिमले आजको गर या मरको खेलमा सशक्त प्रदर्शन गरी दोस्रो पटक विश्वकपमा छानिन कुनै कसर बाँकी नराख्ने मुख्य प्रशिक्षक मोन्टि देसाई र कप्तान रोहित पौडेल बताउँछन् । 

नेपालले पहिलो पटक सन् २०१४ को बंगलादेश टी–२० विश्वकप खेलेको थियो भने एक दशकपछि सन् २०२४ को जुन ४ देखि ३० सम्म वेष्ट इन्डिज र अमेरिकाको संयुक्त आयोजनामा हुने विश्वकप खेल्न आतुर देखिएको हो । 

नेपालको पछिल्लो ६ महिनाको मात्र नतिजालाई हेर्ने हो भने पनि यूएईले भन्दा निकै माथि फड्को मारिसकेको छ । यसले पनि घरेलु मैदान, आफ्नै दर्शक र टिमको बलियो क्षमताका कारण पनि नेपालको आजको परिणाम सकारात्मक आउने अपेक्षा गरिएको छ । 

अर्को सेमिफाइनलमा त्रिविविको मैदान कीर्तिपुरमा ओमान र बहराइन भिड्दै छन् । खेलमा छनोटको फाइनलमा पुग्ने दुवै टिम विश्वकपमा पुग्नेछन् । 

विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ । 

२०२४ को विश्वकपमा २० टिम सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ