arrow

टी–२० विश्वकप छनोट

ओमानलाई रोक्न नेपाल प्रयासरत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
sompal-kami-2080-07-19.jpeg

काठमाडौँ । विश्वकप टी–२० क्रिकेटमा छनोट भइसकेका एसिया छनोटका दुई टिमहरु नेपाल र ओमानले छनोटको फाइनल खेल खेलिरहेका छन् । 

त्रिविविको मैदान कीर्तिपुरमा उपाधिका लागि १८५ रनको चुनौती पछ्याएको ओमान आक्रमक खेलिरहेको छ । नेपाल ओमानको ब्याटिङ लाइन ध्वस्त पार्ने प्रयासमा रहेको भए पनि सफल भइरहेको छैन । 

ओमानले ११ ओभरमै २ विकेट गुमाएर ११० रन बनाइसकेको थियो । ओपनर कश्यप प्रजापतीले अर्धशतक बनाएका छन् । सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिएका छन् । 

यसअघि खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १८४ रन बनाएको हो । नेपालले कमजोर शुरुआत गरेको भए पनि कप्तान रोहित पौडेल र गुल्सन झाबीच पाँचौँ विकेटका लागि भएको ७८ रनको साझेदारीले नेपाल सम्मानजनक योगफल जोड्न सफल भएको हो । 

गुल्सनले २० बलमै अर्धशतक पूरा गर्दै ४ छक्का र ५ चौकाको मद्धतले २५ बलमा ५४ रन बनाए । त्यस्तै रोहितले ३७ बलमा ५२ रन बनाए ।

नेपालका लागि कुशल भुर्तेल २२ बलमा ३१,सन्दीप जोरा १३ बलमा १०, आसिफ शेख ६ बलमा ६, कुशल मल्ल ९ बलमा ३, विवेक यादव ३ बलमा १, बनाएर आउट भए । करण केसीले ६ बलमा अविजित रहँदै २० रन बनाए ।

बिलाल खानले ३ तथा अकिब इलियासले २ विकेट लिए । 

समूह चरणमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । नेपालले सेमिफाइनलमा यूएईलाई र ओमानले बहराइनलाई हराएको थियो । 

सन् २०२४ मा अमेरिका र वेष्टइन्डिको संयुक्त आयोजनामा विश्वकप टी–२० हुँदैछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्नेछ । यसअघि सन् २०१४ मा खेलेको थियो । ओमानले तेस्रोपटक विश्वकप खेल्नेछ । 

विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ । 

२०२४ को विश्वकपमा २० टिम सहभागी हुनेछन् । 

आजको खेलमा दर्शकबाट जम्मा भएको रकममध्ये ५० प्रतिशत नेपाल क्रिकेट संघ क्यानले जाजरकोटको भूकम्प पीडितका लागि दिने निर्णय गरेको छ । 

त्यस्तै क्यानले दर्शकका लागि थप रोचक अफर दिने क्रममा छक्का गएको बल एक हातले क्याच गर्ने दर्शकलाई २० हजार रुपैयाँ दिने घोषणासमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ