- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । खेलमा जितहार हुन्छ । दर्शक कहिले निराश हुन्छन् । कहिले खुशी हुन्छन् । तर त्रिविविको कीर्तिपुर मैदानमा खेलको अन्तिम समयसम्म परिणाम के हुन्छ भनेर कुरेर बस्न सक्ने बनायो आजको खेलले ।
यो फाइनल निकै नै यादगार भयो । दुईओटा उत्कृष्ट र टक्करका टिमहरु एसिया छनोटबाट विश्वकपमा छानिएका छन् ।
हुनत विश्वकप टी–२० क्रिकेटमा छनोट भइसकेका नेपाल र ओमानको एसिया छनोटको उपाधि ओमानले जितेको छ । तर पनि खेल निकै रोमाञ्चक मोडमा पुगेर सकिएको हो । फाइनलमा नेपाललाई सुपर ओभरमा हराउँदै ओमानले उपाधि जितेको हो ।
त्रिविविको मैदान कीर्तिपुरमा उपाधिका लागि १८५ रनको चुनौती पछ्याएको ओमानले समान १८४ रन नै बनाएपछि सुपर ओभरमा नेपाललाई हराएको हो ।
सुपर ओभरमा ओमानले कुनै पनि विकेट नगुमाइ २१ रन जोडेकामा नेपालले १ विकेटको क्षतिमा १० रनमात्र बनाउन सक्यो ।
यसअघि ओमानले १८५ रनको चुनौती पछ्याउने क्रममा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।
कश्यप प्रजापतीले ६३ रन बनाएको इनिङ्समा नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान २–२ विकेट लिए ।
यसअघि खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १८४ रन बनाएको हो । नेपालले कमजोर शुरुआत गरेको भए पनि कप्तान रोहित पौडेल र गुल्सन झाबीच पाँचौँ विकेटका लागि भएको ७८ रनको साझेदारीले नेपाल सम्मानजनक योगफल जोड्न सफल भएको हो ।
गुल्सनले २० बलमै अर्धशतक पूरा गर्दै ४ छक्का र ५ चौकाको मद्धतले २५ बलमा ५४ रन बनाए । त्यस्तै रोहितले ३७ बलमा ५२ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेल २२ बलमा ३१,सन्दीप जोरा १३ बलमा १०, आसिफ शेख ६ बलमा ६, कुशल मल्ल ९ बलमा ३, विवेक यादव ३ बलमा १, बनाएर आउट भए । करण केसीले ६ बलमा अविजित रहँदै २० रन बनाए ।
बिलाल खानले ३ तथा अकिब इलियासले २ विकेट लिए ।
समूह चरणमा ओमानले नेपाललाई ५ रनले हराएको थियो । नेपालले सेमिफाइनलमा यूएईलाई र ओमानले बहराइनलाई हराएको थियो ।
यो खेलपछि ओमान च्याम्पियन तथा नेपाल उपविजेता बन्दै विश्वकप २०२४ का लागि छानिएको हो ।
सन् २०२४ मा अमेरिका र वेष्टइन्डिको संयुक्त आयोजनामा विश्वकप टी–२० हुँदैछ । नेपालले दोस्रो पटक टी–२० विश्वकप खेल्नेछ । यसअघि सन् २०१४ मा खेलेको थियो । ओमानले तेस्रोपटक विश्वकप खेल्नेछ ।
विश्वकपमा वरीयताप्राप्त १२ टिमहरुले स्वतः विश्वकप खेल्नेछन् भने बाँकी ८ टिमको अहिले भइरहेको छनोट जस्तै तरिकाले छनोट भइरहेको छ ।
२०२४ को विश्वकपमा २० टिम सहभागी हुनेछन् ।