arrow

३० प्रतिशत व्यापारिक सटर बन्द

logo
सञ्जय भट्टराई,
प्रकाशित २०८० कार्तिक २० सोमबार
nawalparasi-sutter.jpg

कावासोती । अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी हुँदा नवलपुरमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका ३० प्रतिशत बढी सटर खाली भएका छन् । पछिल्लो समय आर्थिक सङ्कट तथा बैङ्कको ब्याजदर उच्च रूपमा वृद्धि हुँदा व्यवसाय चलाउन नसक्दा व्यवसायी पलायन हुने क्रम बढेसँगै नवलपुरका मुख्य बजारमा व्यावसायिक सटर खाली हुन थालेका हुन् ।

नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठप्रसाद अर्यालले आर्थिक गतिविधि सुस्त हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको बताए । उनले घरधनीको भाडा वृद्धि, बैङ्कको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा २५ देखि ३० प्रतिशत व्यावसायिक सटर खाली भएको बताए । उनले व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छाडेर वैदेशिक रोजगारीमा गएकाले पनि सटर खाली हुने अवस्था आएको बताए । उनले खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून रहेको भन्दै सरकारले तत्काल अहिलेको समस्या समाधान गर्न आवश्यक रहेको बताए ।
 
जिल्लाका अन्य बजारको तुलनामा जिल्ला सदरमुकाम समेत रहेको कावासोती बजारमा व्यवसायी पलायनको सङ्ख्या धेरै रहेको नवलपुर उद्योग वाणिज्य सङ्घका सचिव सागर पोख्रेलले बताए । बैङ्कको ब्याजका कारण मारमा परेका व्यवसायी बजारमा गा्रहकनै आउने क्रम घटे सँगै व्यवसायी सँग पलायनको विकल्प नरहेको पोख्रेल बताउँछन् । 

व्यवसायी पलायन हुने क्रममा जिल्लाको मध्य विन्दु नगरपालिकामा समेत बढ्दै गएको छ । १५ देखि २० प्रतिशतको हाराहारी व्यवसायीहरू पलायन भएका मध्य विन्दु उद्योग वाणिज्य सङ्घका अध्यक्ष किरण श्रेष्ठले बताए । मध्य विन्दुमा अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी तथा पूर्व पश्चिम राजमार्ग बिस्तारका कारण व्यवसायी पलायन हुने दर बढेको हो । “आर्थिक मन्दी थियो थियो, सडकको कारणले समेत व्यापार हुन छोडे पछि व्यवसायी पलायन हुन थालेका छन्”, अध्यक्ष श्रेष्ठले भने । व्यवसायी पलायनको समस्या देवचुली नगरपालिकामा पनि उस्तै रहेको छ । 

देव चुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सूर्यप्रसाद दवाडीले देवचुलीमा पलायन हुने व्यवसायी ३० प्रतिशत भन्दा बढी रहेको छ । “३० प्रतिशत त व्यवसाय छोडेरै पलायन हुनु भएको छ, थप १० देखि १५ प्रतिशत व्यवसायीहरू समेत पलायन हुने अवस्था छ”, दवाडीले भने । बढ्दो आर्थिक मन्दी तथा विकास निमार्णका काम ठप्प हुँदा ग्राहकहरू पसल सम्म आउने क्रम निकै घटेको दवाडीले बताए ।

कोराना महामारी, त्यसपछिको रुस र युक्रेन युद्ध र अहिले चलिरहेको इजरेल प्यालेष्टाइन बीचको युद्धले विश्व स्तरमै निम्ताएको आर्थिक मन्दी तथा बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याजका कारणले व्यवसायीहरू निरन्तर पलायन हुँदै गएको गण्डकी प्रदेश उद्योग वाणिज्य सङ्घ तथा जिल्ला उद्योग वाणिज्य सङ्घ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले बताए । बैङ्क तथा वित्तीय संस्थाहरूले ब्याजका लागी ताकेता बढाइरहेको तर व्यापार लगभग ठप्प जस्तै भएकाले यस्तो अवस्था आएको उनको भनाई छ । 

“दैनिक जसो ५/७ जना व्यवसायीहरू पलायन भएको रिपोर्ट हामीहरूलाई आउँछ, राज्य उदासीन छ, बैङ्क तथा तथा वित्तीय संस्थाले नाफा मात्रै हेरेका छन्, व्यवसायीको मर्का बुझे कोही भएन”, भट्टचनले भने । बैङ्क तथा वित्तीय संस्थाको ताकेताका कारण तिहार पछि व्यवसायबाट पलायन हुनेको सङ्ख्या डर लाग्दो रूपमा बढ्ने तर्फ सङ्केत गदै अध्यक्ष भट्टचनले सरकारलाई गम्भीर भएर व्यवसायीको हितमा काम गरिदिन आग्रह समेत गरेका छन् ।

अर्थतन्त्रमा देखिएको समस्याले व्यावसायिक मन्दी बढिरहँदा नवलपुरमा नयाँ व्यवसाय दर्ता गर्ने दरमा समेत कमी आउँदै गएको छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ३ हजार ५ सय ९४ उद्योग दर्ता भएका थिए तर आर्थिक वर्ष २०८०/८१ को पहिलो ३ महिनामा ७० वटा नयाँ उद्योग दर्ता भएको छ भने आर्थिक वर्ष २०७९/८० मा जिल्लामा २ हजार २ सय ९१ उद्योग नवीकरण भएको मा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा १ सय ९५ वटा मात्रै उद्योग नवीकरण भएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका अध्यक्ष नगेन्द्र पौडेलले जानकारी दिए । 

उनका अनुसार चालु आ.वमा वाणिज्य दर्ताको सङ्ख्या १ सय३५ रहेको छ भने गत आ.वमा ३ हजार ६ सय ३६ वाणिज्य नवीकरण भएकामा चालु आ.वको पहिलो तीन महिनामा २ सय ९६ जनाले मात्र वाणिज्यको नवीकरण गरेका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ