arrow

गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार हुनुपर्छ : प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
prachanda-2080-06-25-1.jpg
तस्बिर-फाइल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ द्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण गर्दै प्रधानमन्त्रीले दस वर्षे जनयुद्ध र विस्तृत शान्ति सम्झौता मुलुकको राजनीतिक प्रक्रियाको ठूलो महत्व रहेको बताए । 

उनले पुनको पुस्तक ‘यात्रा जिन्दगी’ सरलता र इमानदारीको प्रतीक भएको बताए ।

प्रधानमन्त्रीले भने, ‘‘पुनको पुस्तकमा भएका कतिपय सन्दर्भहरू आजको परिस्थितिमा मेल खाँदैनन् तर उहाँले पुस्तकमा आफ्नो जीवनमा जस्तै सरलता र इमानदारी प्रस्तुत गर्नुभएको छ । उहाँ सबैलाई मिलाउन सक्ने कुशल व्यक्तित्व हो । उहाँ छलकपटरहित, मिलनसार व्यक्तित्व हुनुहुन्छ ।”

प्रधानमन्त्रीले पृथ्वीनारायण शाहको एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै भएको बताए । 

‘‘पृथ्वीनारायण शाहको आधुनिक नेपाल निर्माण अभियानपछि सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै थियो । त्यसैले गणतन्त्रपछि पहिलोपटक मैले नै पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक विदाको घोषणा गरेँ । त्याग र बलिदानको कीर्तिमान एवं मुलुकको आमूल परिवर्तनमा जनयुद्धको भूमिका अद्वितीय छ । अहिले यसमाथि विभिन्न खालका बहस पनि छन् । एकदिन जनयुद्धको जीवन्त इतिहास लेखिने नै छ’ प्रधानमन्त्रीले भने ।

घोस्ट राइटिङ नेपाल, लेखन कुञ्जद्वारा प्रकाशित उक्त पुस्तकमा जनमुक्ति सेनाको कमाण्डरदेखि उपराष्ट्रपतिसम्मका विभिन्न भोगाइ र अनुभूतिलाई प्रस्तुत गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ