arrow

भूकम्प पीडितलाई राहत र पुनस्थापनामा ढिलाइ हुन्न : मन्त्री बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
Shakti basnet.jpg

जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारले आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको बताएका छन्। 

भूकम्पबाट भएको क्षतिको स्थलगत जानकारी लिँदै मन्त्री बस्नेतले पीडितका लागि तत्काल त्रिपाल, खाद्यान्नलगायत अत्यावश्यक वस्तुको उपलब्ध गराउनेक्रम जारी रहेको बताए । 

भेरी र नलगाड नगरपालिकाभित्रका भूकम्पपीडितसँग भेटघाट गर्दै मन्त्री बस्नेतले राहत र पुनःस्थापनामा ढिलाइ नहुने प्रतिवद्धता व्यक्त गरेका थिए ।

भूकम्पबाट भेरीको तुलनामा नलगाड नगरपालिकामा बढी मानवीय क्षति हुनाका साथै भौतिक संरचनामा समेत हानि पुगेको छ । 

भेरी-३ थाप्ले, भेरी-१ रिम्ना, नलगाड-१ को पाली कल्पत र नलगाडका वडा नं ४, ५ र ६ मा उनले बिहीबार स्थलगत जानकारी लिएका थिए । 

मन्त्री बस्नेतसँग पीडितले अब चिसोबाट जोगिनका लागि आवश्यक पहल गर्न आग्रह गरेका थिए ।

नलगाड-५  भारगाउँका परिमल सुनारले त्रिपाल मात्रै पर्याप्त नभएकाले अस्थायी टहरा निर्माण गरेर पुनःस्थापनाको कामलाई ध्यान दिन मन्त्री बस्नेतसमक्ष आग्रह गरेका थिए । 

सुत्केरीलाई समस्या 

नलगाड-७ दल्लीका मीनाकुमारी बादी सुत्केरी भएर बिहीबार नगर अस्पतालबाट डिस्चार्ज भइन् । उनलाई त्रिपालमुनि खाना र न्यानो कपडा नहुँदा समस्या भएको छ । 

भूकम्पले घरमा क्षति बनाउँदा सबै त्रिपालमा रहेका समयमा मीनालाई भत्किएको घर बाहिर बस्नु पर्दा समस्या उत्पन्न भएको छ ।

उनीसँग छ वर्षका छोरा र पाँच वर्षकी अर्की छोरी साथमा छिन् । 

मीनाकी सासू सुनिता अनुसार अब मीनाको काँधमा तीन बच्चाको व्यवस्थापनको कामसमेत थपिएको छ । 

उहाँका श्रीमान्को केही दिनअघि शल्यक्रिया गरेकाले राम्रोसँग हिँड्न सक्ने अवस्थामा छैन । 

सुनिताले भनिन्, “बस्नका लागि घर भत्किएको छ भने खानका लागि अन्नको एक गेडा पनि छैन । ”  

उनी जस्तै बारेकोट गाउँपालिका-२ रोकायगाउँकी सरिता गिरीलाई पनि समस्या छ । 

तीन दिनकी सुत्केरी उनी अहिले त्रिपालको सहारामा चिसोले हैरानी खेप्दै बसेकी छन् । 

उनका श्रीमान् भारतको कोलकतामा काम गर्न गएको पनि पाँच महिना भइसक्यो । 

अहिले उनी ९ वर्षको छोराका साथमा छिन् । 

भूकम्पको केन्द्रविन्दु रहेको नजिकै आफ्नो गाउँ भएकाले पराकम्प गइरहने समस्या छ । 

सुत्केरीले स्याहारसुसार पाउने समयमा आफैँ काममा लाग्नुपर्दा जोखिम बढेको उनको भनाइ छ । 

भूकम्पबाट कति स्वास्थ्य संस्थामा क्षति पुगेको छ भन्ने यकिन तथ्याङक छैन । 

भूकम्प प्रभावित अधिकांश ठाउँमा स्वास्थ्य संस्थाका भवनहरु चर्किएकाले सेवा प्रभावमा समस्या भएको छ । 

लिम्सास्थित स्वास्थ्य तथा सरसफाइ शाखाको भवन भत्किएपछि खुल्ला चौरमा त्रिपाल टाँगेर सेवा सञ्चालन गरिएको वरिष्ठ अनमी कल्पना रोकायले जानकारी दिए । 

त्यस्तै अन्य ठाउँको अवस्थासमेत चिन्ताजनक रहेको उनको भनाइ छ । 

खासगरी बारेकोट, नलगाड र भेरीमा भौतिक संरचनामा क्षति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ