arrow

हङकङसँग नेपालको लज्जास्पद प्रदर्शन, एक खेलअघि नै बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३० बिहिबार
women-cricket-2023-nep-hongkong.jpeg

काठमाडौँ । हङकङमा जारी चार देश सम्मिलित टी–२० महिला क्रिकेट श्रृंखलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपाल आयोजक हङकङसँग ९ विकेटले पराजित भएको हो । 

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १८ ओभरमात्रै क्रिजमा टिकेर ५६ रनमा अलआउट भयो । रुबिना क्षेत्रीले ३० बलमा २५ रन बनाए बाहेक कुनै पनि ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । सीता राना मगरले ९ तथा रोमा थापाले अविजित ७ रन बनाएको इनिङ्समा तीन खेलाडीले रनकोसमेत खाता खोल्न सकेनन् । 

इक्रा शहरले सर्वाधिक ३ विकेट लिइन् । 

जवाफमा हङकङले ९ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । 

पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाललाई फाइनल प्रवेशको सम्भावना जिवितै राख्न हङकङलाई हराउनै पर्ने दबाब थियो । 

तर लगातार दुई हार बेहोरेसँगै अन्तिम खेलमा जापानसँग खेल्नुअघि नै नेपाल बाहिरिएको छ । 

लगातार दुई जितसहित हङकङ फाइनलमा पुगेको छ । पहिलो खेलमा हङकङले बुधबार जापानलाई हराउन सफल भएको थियो । तान्जानिया पनि फाइनलमा पुगेको छ । तान्जानियाले आज भएको खेलमा जापानमाथि १११ रनको फराकिलो जित हासिल गर्यो । 

पहिले ब्याटिङ गरेको तान्जानियाले ९ विकेटको क्षतिमा १३९ रन बनाएकामा जापान २८ रनमै अलआउट भएको थियो । 

नेपाली टोलीमा कप्तान इन्दू बर्मा, उपकप्तान बिन्दू रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डङ्गोल, सङ्गीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो, रोमा थापा र सम्झना खड्का छन् ।

नेपाली महिला क्रिकेट टोलीको प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् । 

नेपालले सान्त्वना जितका लागि लिग चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ