arrow

युक्रेनलाई आश्वस्त पार्न अमेरिकी रक्षामन्त्री किभको भ्रमणमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ४ सोमबार
lloyd-austin-us-defence-min.jpg
तस्बिर – रोयटर्स ।

किभ । वासिङ्टनले रुसी सेनाको आक्रमणविरुद्धको लडाइँलाई समर्थन जारी राख्ने वासिङ भनी युक्रेनलाई आश्वस्त पार्न अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सोमबार किभको अघोषित भ्रमण गरेका छन् ।  

अमेरिकाले युक्रेनका लागि सुरक्षा सहयोगमा अर्बौं डलर प्रदान गरेको छ । साथै उसले ‘जबसम्म आवश्यक हुन्छ’ किभलाई समर्थन गर्ने वाचा दोहोर्याउँदै आएको छ । यद्यपि कट्टरपन्थी रिपब्लिकन सांसदहरूको विरोधले अमेरिकी सहयोगको भविष्यका बारेमा शङ्का पैदा भएको छ । 

“रक्षामन्त्री अस्टिनले युक्रेनी नेताहरूसँग भेट्न र युक्रेनको स्वतन्त्रताको लडाइँका लागि अमेरिकाको दृढ समर्थनलाई बलियो बनाउनका लागि आज युक्रेनको भ्रमण गर्नुभएको छ, सुरक्षा चिन्ताका कारण यो भ्रमणका बारेमा समयभन्दा पहिला घोषणा गरिएको थिएन”, पेन्टागनले भ्रमणबारे विज्ञप्तिमा भनेको छ, “उहाँले रुसी आक्रमणबाट बचाउन युक्रेनलाई आवश्यक सुरक्षा सहयोग प्रदान गर्ने अमेरिकी प्रतिबद्धतालाई पनि जोड दिनुहुनेछ ।”

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरमा आक्रमण गरेपछि पोल्यान्डबाट रेलमार्फत किएभको यो भ्रमण अस्टिनको दोस्रो हो । अहिलेसम्म किभलाई सैन्य सहयोग गर्ने वासिङ्टन सबैभन्दा ठूलो दाता हो । युद्धको दोस्रो चिसोका लागि तयार युक्रेनलाई अमेरिकी सहयोगमा कटौती ठूलो प्रहार हुनेछ । 

रक्षामन्त्री अस्टिन र विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले अक्टोबरमा एक सुनुवाइका क्रममा सांसदहरूसँग युक्रेनलाई समर्थन जारी राख्न आग्रह गरेका थिए । रक्षामन्त्री अस्टिनले भनेका थिए, “हाम्रो सहयोग नभए  पुटिन (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) सफल हुनुहुनेछ ।”

केही रिपब्लिकन सांसदहरूले भने निरन्तर सहयोगको विरोध गरेका छन् । यद्यपि युक्रेनलाई अमेरिकी सहयोग रोकिएको छैन । पेन्टागनकी उपप्रेस सचिव सब्रिना सिंहले यसै महिनाको शुरुमा भनेकी थिइन्, “युक्रेनलाई हाम्रो सहयोग कम गर्नुपरिरहेकाले सहयोग प्याकेज सानो हुँदै गइरहेको छ ।”

अमेरिकाले युक्रेनका लागि अन्तर्राष्ट्रिय समर्थनमाथि जोड दिएको छ । रुसको आक्रमणपछि किएभलाई समर्थन गर्नका लागि अमेरिकाले तत्काल एउटा गठबन्धन बनाएर दर्जनौँ मुलुकबाट सहयोगको समन्वय गरेको छ । 

युक्रेनका समर्थकहरूले किएभका सैनिकहरूलाई प्रशिक्षणसमेत दिएका छन् । अमेरिका र अन्य मुलुकले वित्तीय संस्थान, प्रविधि आयात र ऊर्जा निर्यातजस्ता लक्ष्यमा रुसमाथि कडा प्रतिबन्ध लगाएका छन् । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ