arrow

विश्वकप छनोटमा नेपाल र यमन दशरथ रंगशालामा भिड्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ५ मंगलबार
dasharath-stadium-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । फिफा विश्वकप–२०२६ र एएफसी एसिया कप–२०२७ को संयुक्त छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले आज यमनसँग खेल्दैछ । नेपालले घरेलु दशरथ रंगशालाको मैदानमा यमनसँग पहिलो लेगको खेल खेल्न लागेको हो । 

खेल बेलुकी ७ बजेदेखि शुरु हुनेछ । खेलअघिको प्रिम्याच कन्फरेन्समा सोमबार दुवै टिमका कप्तान र मुख्य प्रशिक्षकले राम्रो खेल खेल्ने दाबी गरेका छन् । 

फिफा वरीयतामा यमन १५६औँ स्थानमा रहेको छ भने नेपाल १७३ औँ स्थानमा रहेको छ । घरेलु मैदानमा खेल्ने भएकाले नेपालले अनुकूल परिणाम निकाल्ने अपेक्षा गरिएको छ । 

आयोजनाको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । दर्शकका लागि साधारण पारापिटतर्फ चार सय र भीआईपी पारापिटतर्फ एक हजार रुपैयाँ टिकट दर कायम गरिएको छ । 

खेलको टिकटहरू खेल हुने दिन बिहान ८ देखि साँझ ५ बजेसम्म दशरथ रंगशालामा परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ ।

त्यसैगरी दर्शकलाई घर फर्कनका लागि बसकोसमेत व्यवस्था रहेको पनि एन्फाले जनाएको छ । एन्फा महासचिव किरण राईले खेल राति सकिने भएकाले यातायात नहुने दर्शकका लागि बसको व्यवस्था गरिएको जनाए । 

विश्वकप एसिया छनोटमा नेपाल समूह एच मा रहेको छ । नेपाल रहेको समूहमा यूएई, बहराइन र यमन रहेका छन् । होम एन्ड अवेका आधारमा खेल खेल्न लागिएको हो । 

पहिलो खेलमा नेपाल अवे खेलमा यूएईसँग ४–० को हार बेहोरेको थियो । ३९ सालपछि नेपालले यूएईसँग खेलेको हो । 

पहिलो चरणमा लाओसलाई हराएर नेपाल दोस्रो चरणमा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ