arrow

प्रदीप पौडेलको नेतृत्वमा जाजरकोटमा सय अस्थायी आवास निर्माण सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ९ शनिबार
pradip-poudel-jajarkot-2080.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट पुगेको टोलीले स्थानीयका १०० अस्थायी आवासको आधारभूत संरचना निर्माण सम्पन्न गरेको छ ।  

पार्टीको निर्णयअनुसार पौडेल नेतृत्वको टोलीले नलगाड नगरपालिका वडा नम्बर ५ स्थित रघुनाथ टोलमा मंगलबारदेखि अस्थायी टहरा निर्माणको काम थालेको  थियो । 

टोलीले शुक्रबारसम्म श्रमदान गरेर १०० वटा अस्थायी आवासको आधारभूत संरचना निर्माणमा सहयोग गरेको महासमिति सदस्य सुशिल भट्टले जानकारी दिए । 

भूकम्पपछि क्षतिग्रस्त भएका केही घरहरुको भग्नावशेष पन्छाउनसमेत संलग्न उक्त टोली शनिबार काठमाडौँ आइपुगेको छ।  टोलीमा पौडेलसहित प्रदेश सांसद दिल्लीराम सुवेदी, दीपकबाबु कडेल, भागवत रेग्मी, सुवास घिमिरे, पुष्प बस्नेत, महेन्द्र शाह, छवि पन्त, सुशील भट्टलगायतका नेता कार्यकर्ता रहेका थिए । 

गत सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेसँगै पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर गएको थियो ।  

कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएर अस्थायी टहरा बनाउन सहयोग गर्ने निर्णयअनुसार अन्य टोली पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको छ । 

नेता पौडेलका अनुसार टोलीले १०० वटा अस्थायी घर निर्माणमा श्रमदान गरे पनि आवासका लागि चाहिने जस्तापाताको अभावका कारण स्थानीय स्रोतसाधनको प्रयोग गरेर सुरक्षित बनाउने कार्य भएको बताएका छन् । 

आवास निर्माणको सरकारी मापदण्ड  बने पनि सो अनुसार समयमा प्रभावितले रकम पाउन नसक्दा समस्या भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ