arrow

सुत्केरी र नवजात शिशु केन्द्रित ‘आमा घर’ सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
gaidakot-nagarpalika1.jpg
तस्बिर-फाइल

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा गर्भवतीलाई लक्षित गरी सञ्चालन गरिएको ‘आमा घर’ प्रभावकारी बन्दै गएको छ । 

गैँडाकोट नगरपालिकाको विकट पहाडी क्षेत्रमा पर्ने वडा नं ३ र १८ का सुत्केरीलाई लक्षित गर्दै आमाघर सञ्चालनमा ल्याइएको हो ।

पहाडी क्षेत्रका महिला घरमै सुत्केरी हुने गरेका भन्दै गैँडाकोट नगरपालिकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा सुत्केरी गराउन प्रेरित गर्ने उद्देश्यले गैँडाकोट नगर अस्पतालमा आमाघर सञ्चालनमा ल्याएको हो । 

घरमा हुने सुत्केरीको सङ्ख्या शून्यमा ल्याउने र सुत्केरी अवस्थामा आउन सक्ने जटिलता घटाउने उद्देश्यले पहाडी क्षेत्रमा बसोबास गर्ने गर्भवतीलाई गैँडाकोट नगर अस्पतालमा आमाघर कार्यक्रम सञ्चालन गरिएको गैँडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताए । 

आमाघर कार्यक्रमलाई नगरपालिकाको नवीनतम् प्रयासका रूपमा लिइएको उनको भनाइ छ ।

नगरपालिकाले नगर अस्पतालमा सञ्चालन गरेको आमाघरबाट लक्षित वडाका गर्भवती र उनका कुरुवालाई दुई हप्तासम्म सम्पूर्ण हेरचाह गरिने गैँडाकोट नगर अस्पताल प्रमुख जनस्वास्थ्य निरीक्षक पुष्पराज श्रेष्ठले बताए । 

“दुई वडाका गर्भवती र उनका कुरुवालाई सुत्केरी हुने मितिले सात दिनअघिदेखि सात दिन पछाडिसम्म खाने र बस्ने सबै सुविधा यहीँ उपलब्ध हुन्छ, त्यसका लागि नगरपालिकाले प्रतिदिन रु आठ सय उपलब्ध गराउँछ”, उनले भने । 

“यहाँ राखेको बेलामा जटिल समस्या देखियो भने तत्काल हामीले उपचार गर्न सक्छौँ”, उनले भने, “यहाँबाट समाधान भएन भने पनि भरतपुर सिफारिस गरेर सुत्केरी र नवजात शिशुको ज्यान बचाउन सकिन्छ ।’ 

गत आर्थिक वर्षबाट सुरु भएको आमाघर कार्यक्रमबाट हालसम्म गैँडाकोटको वडा नं ३ र १८ का ४१ जना लाभान्वित भइसकेका श्रेष्ठले बताए । उनका अनुसार आव २०७९/८० मा २९ जना र चालु आवमा १२ जनाले आमाघरबाट सेवा लिएका छन् ।
 
गैँडाकोट नगरपालिकाभित्र भौगोलिकरूपमा विकट क्षेत्र वडा नं ३ र १८ मा बसोबास गर्ने गर्भवतीलाई लक्षित गरी नगर स्वास्थ्य शाखाले ग्रामीण भिडियो एक्स-रे कार्यक्रम सञ्चालन गर्दै आएको नगर स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

त्यस्तै नगर स्वास्थ्य शाखामार्फत ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरभित्रका प्रतिसुत्केरी रु पाँच हजारका दरले रकम उपलब्ध गराउँदै आएको उनले जानकारी दिए । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ