arrow

कांग्रेसको प्रथम प्रदेश सम्मेलन

के भन्छन् कांग्रेसका प्रदेश सभापतिहरु ? 

logo
नारायण वली,
प्रकाशित २०८० मंसिर १६ शनिबार
congress-lumbini-2080-08-16.jpg

लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम प्रदेश सम्मेलन–२०८० शनिबार बुटवलमा शुरु भएको छ । सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर, केन्द्रीय सदस्यहरु डा। शेखर कोइराला, डा। चन्द्र भण्डारी, दिपक गिरी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेललगायत दर्जन बढी नेताहरुको उपस्थिति रहेको छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशका सबै जिल्लाका कांग्रेस प्रतिनिधिहरु सहभागी भएका छन् ।

देशको भविष्यबारे कांग्रेसले बताउनु पर्छ – लुम्बिनी सभापति पुन
सो क्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले देशको अवस्थाको बारेमा र देशको भविष्यका बारेमा अब के भन्छ भन्ने जिज्ञासा सबैको रहेको भन्दै विचार धारणा स्पष्ट पार्नुपर्ने जनाए । उनले अर्थतन्त्र, पेशा रोजगारी, उद्योगी, शिक्षा, स्वास्थ्य लगायतको अवस्थालाई मजबुत बनाउन जरुरी रहेको बताउँदै नेपाली कांग्रेस पार्टी गम्भीर बन्न आग्रह गरेका थिए ।

संविधान सबै ठीक छ म भन्दिन भन्दै उनले संविधानको पूर्ण कार्यान्वयन गर्नुपर्ने पार्टीको दायित्व रहेको जनाउँदै संघीयताको बारेमा नकारात्मक कुराहरु फैलिदै गएकाले यसको स्थायित्व गर्न पार्टीको नेतृत्वले स्पष्ट पार्न जिकिर गरे ।

कांग्रेसमा एकताको विकल्प छैन – कोशी सभापति उद्धव थापा 
कोशी प्रदेशका सभापति उद्धव थापाले विगतदेखि वर्तमानसम्म गरेका काम कर्तव्यहरु, हिजो राजनीतिक परिवर्तनका लागि गरेको बलिदानको सम्मान हुन बाँकी रहेको बताए । 

उनले पार्टीमा रहेको अन्तरद्वन्द्वले कमजोर बन्दै गएको जनाउँदै हिजो एकता हुँदा २००७ सालदेखि २०६२–०६३ सम्म परिवर्तन ल्याउन सफल भएको दाबी गरे । कुनै ठाउँमा चुनाव जित्न कसैको सहयोग नचाहिने भन्दै उनले एकताबद्ध हुन अनुरोध गरे । 

कांग्रेसमा एकताबद्ध सुत्रको खाँचो छ –मुख्यमन्त्री चौधरी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संगठन निर्माण, पार्टीको नीति सिद्धान्त र गुटबन्दीलाई एकताको सूत्रमा बाँध्नुपर्नेमा जोड दिए । 

उनले संविधान पूर्ण कार्यान्वयन नभएसम्म संघीयता सफल हुँदैन भन्दै यसलाई कार्यान्वयन गरी देशलाई रोजगारी, उत्पादन र आर्थिक उन्नति गर्नतर्फ लाग्न र प्रदेशलाई अधिकार दिन आग्रह गरे ।  

प्रदेश सरकारलाई संघीय सरकारको बेइमानी– मधेस सभापति यादव
मधेस प्रदेश सभापति कृष्ण यादवले प्रदेशले मागेका अधिकार,पार्टीले पाएका उपलब्धिहरु गुमान नपरोस् भन्नेमा नेतृत्व गणलाई ध्यानाकर्षण गराए । प्रदेश सरकार अधिकारविहीन भएको भन्दै भन्दै न निजामती ऐन छ, प्रहरी न कुनै अन्य भनी गुनासो गरे । 

उनले संविधानले प्रदेशका लागि दिएको अधिकार प्राप्त गर्नका लागि सातै प्रदेशका एक भएर केन्द्र सरकारलाई घच्घच्याउन काठमाडौँ जानुपर्ने उल्लेख गरे । 

जसको प्रहरी छैन त्यो प्रदेश सरकार हुँदैन– बागमती सभापति बानियाँ

बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले संघीयता भनेको पहिचान भएको बताए । राणा शासन, राजतन्त्र र द्वन्द्वलाई तह लगाएर गणतन्त्रको लिड गरेको पार्टी देश र जनताको भावनालाई अधिकारमुखी बनाएको पार्टी गम्भीर नबन्ने हो भने देशमा धार्मिक, जातलगायत अन्य कुनै नाममा तेस्रो शक्ति उदाएर आउन सक्ने उनले जिकिर गरे ।

कांग्रेसको विरासत खल्बलियो – गण्डकी सभापति पन्थी
गण्डकी प्रदेश सभापति शुक्रराज पन्थीले विरासत खल्बलिएको बताए । उनले कांग्रेसको विरासत भत्किएका बेला विभिन्न तत्वहरुले आक्रमण गर्दै आइरहेको बताए । 

उनले कांग्रेसले अब पार्टी सुदृढीकरण गरी सुध्रेर अगाडि बढ्न आग्रह गर्दै युवा पंक्तिहरुलाई बुझाउनुपर्ने र प्रजातन्त्र बलियो बनाउन जरुरी र बिग्रिएको विरासत बलियो बनाउनुपर्ने सुझाव दिए । उनले भने, ‘विरासत जोगाऔँ, कांग्रेस बचाऔँ ।’ 

सडकमा उदाउँदै गएका तत्व हाबी नहोला भन्न सकिनन – कर्णाली प्रदेश सभापति शाही 
कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले आफूहरुप्रतिको दृष्टि र विश्वास जनतामा निराशा हुँदै गएको बताए । 

उनले हिजोआज सडकमा उदाउँदै गएका तत्वहरु हावी नहोलान् भन्न नसकिने बताउँदै कांग्रेस पार्टी सचेत हुनुपर्नेमा जोड दिए । 

बैठकमा सुदूरपश्चिम प्रदेशका सभापति उपस्थित थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ