arrow

शेयर किनेको कम्पनी प्रतिस्पर्धाबाट छानिएको एनसेलको दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २१ बिहिबार
ncell-logo-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । एनसेलले शेयर किनेको कम्पनी प्रतिस्पर्धाबाट छानिएको दाबी गरेको छ । उसले ८० प्रतिशत शेयर किनेको स्पेक्ट्रलाइट यूके लिमिटेड प्रतिस्पर्धाबाट छानिएको बताएको हो । कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा कानूनको पालना गर्ने पनि एनसेलले जनाएको छ ।

अपारदर्शी, शंकास्पद र कर छलि गर्ने उद्देश्य अनुसार शेयर खरिद बिक्री भएको भन्दै त्यसलाई रोकेर छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिले बुधबार निर्देशन दिएको थियो ।

नेपाली मूलका सतिशलाल आचार्यलाई आजियाटाले एनसेलको ८० प्रतिशत शेयर बिक्री गरेको थियो ।

तर सार्वजनिक लेखा समितिले छानबिन गर्ने भनेसँगै एनसेलले आज आजियाटाले पारदर्शिता सुनिश्चित गरेको दाबी गरेको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै एनसेलले भनेको छ, ‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहेको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीको लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो भई छानिएको हो ।’

एनसेलका अनुसार सहमति भएको सम्झौता ढाँचा अनुसार आजियाटाले बेस पेमेन्ट बाहेक पाँच वर्ष अर्थात् सन् २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँटको रुपमा प्राप्त गर्ने छ । 

यस शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको भन्दै एनसेलले त्यो कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्ने जनाएको छ ।

‘यस प्रक्रियामा एनसेल कर कानूनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ । 

एनसेलले एक जिम्मेवार कम्पनीको रुपमा आफ्ना सबै ग्राहकलाई उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको दाबीसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ