arrow

हमास- इजरेलसँग कामकाजी सम्बन्ध भएको रुसले गर्‍यो युद्ध अन्त्य गर्न गुटेरेससँग आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २८ बिहिबार
umga-united-nations-general-assembly.jpg

काठमाडौँ ।रुसी विदेशमन्त्री सर्गेई लाभारोभले बुधबार इजरेल र प्यालेस्टिनीहरूबीचको युद्धको दिगो समाधान खोज्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग आह्वान गरेका छन् । 

मस्कोले बारम्बार प्यालेस्टिनी राज्य निर्माणको आह्वान गरेको छ र उसको हमास तथा इजरेल दुवैसँग कामकाजी सम्बन्ध छ । मस्कोले हमासलाई आतङ्कवादी सङ्गठनको मान्यता दिएको छैन । 

रुसी विदेशमन्त्री लाभारोभले रुसी सिनेटरहरूसँग भने, “यो समस्याको सदाका लागि समाधान गर्ने र न्यायसङ्गत तरिकाले समाधान गर्ने एक मात्र तरिका भनेको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का सबै पाँच स्थायी सदस्यसँग एउटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्नु हो ।”

उनले सम्मेलनमा अरब लिग, इस्लामिक सहयोग सङ्गठन र खाडी सहयोग परिषद्का मुलुकहरूको प्रतिनिधि सहभागी हुनुपर्ने बताए । “राष्ट्रसङ्घले यस्तो प्रकारको सम्मेलन आयोजना गर्नका लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्छ”, मन्त्री लाभारोभले भने, “राष्ट्रसङ्घका महासचिव यस्तो प्रकारको पहलका लागि अत्यन्त सक्षम हुनुहुन्छ भन्ने मलाई विश्वास छ ।”

राष्ट्रसङ्घीय सुरक्षा परिषद्का स्थायी सदस्यमा चीन, फ्रान्स, बेलायत, अमेरिका र रुस रहेका छन् । “प्यालेस्टाइन राज्य निर्माणको वाचा दिइएका प्यालेस्टिनी जनताविरुद्ध जारी अन्यायले धेरै गम्भीर आतङ्कवादी र चरमपन्थी भावनालाई प्रवर्द्धन गर्दछ”, उनले भने । 

मन्त्री लाभारोभले अक्टोबरमा इजरेलमा अभूतपूर्व आक्रमण गर्दा हमासले बन्धक बनाएका बन्धकहरूको रिहाइका लागि मस्कोले आफ्नो शक्तिका साथ सबै गरिरहेको पनि स्पष्ट गरे । 

हमासले हालैका सातामा तीन रुसी नागरिकलाई रिहा गरेको छ । उक्त रिहाइ इजरेलसँग हमासले गरेको सम्झौताअनुसार रिहाइ गर्नुपर्ने बन्धकहरूको सूचीबाट बाहिर थियो । 

गाजामा इजरेलको सैन्य कारबाहीका क्रममा रुसले उसको आलोचना गरिरहेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले ‘विनाशकारी’ मानवीय स्थितिको निन्दा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ