arrow

अभिनेता डेपार्डियको पक्षमा बोलेपछि म्याक्रोनको आलोचना

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
macron-france.jpg

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई यौन पीडकको पक्षमा अभिव्यक्ति दिएको आरोप लागेको छ ।

राष्ट्रपति म्याक्रोनले बिहीबार चारैतिरबाट यौन आक्रमणकारीहरूको पक्षमा रहेको आरोपको सामना गर्नु परेको छ । फिल्म आइकन जेरार्ड डेपार्डियो बलात्कार र यौन दुर्व्यवहारको आरोप खेपिरहेका बेला राष्ट्रपतिलाई समेत उनको पक्षमा नरम रहेको आरोप लागेको छ ।
 
बुधवार राष्ट्रपति म्याक्रोनसँग लिइएको टेलिभिजन अन्तर्वार्तामा अभिनेता डेपार्डियोलाई प्रदान गरिएको फ्रान्सको 'सर्वोच्च राज्य पुरस्कार' खोस्नु पर्छ कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले आफू त्यसको पक्षमा नभएको बताएका थिए। 

डेपार्डियोले करिब तीन दशक अघि सो प्रतिष्ठित राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए । राष्ट्रपतिले डेपार्डियलाई निकै ठूलो अभिनेता भन्दै उनी निर्दोष हुन सक्ने खालको आशय अभिव्यक्त गरेका थिए ।
 
राष्ट्रपतिको सो धारणापछि अनेक कोणबाट उनको आलोचना शुरु भएको छ । विभिन्न नारीवादी सङ्गठनहरूले चर्को स्वरमा उनको सो अभिव्यक्ति गैरजिम्मेवार ठहर गर्दै यौनहिंसा पीडितको मनोविज्ञान नबुझेको र पीडितको विपक्षमा रहेको समेत आरोप लगाएका छन् ।
करिब २०० भन्दा बढी चलचित्र र टिभि शृङ्खलाहरू बनाएका डेपार्डियोलाई सन् २०२० मा बलात्कारको आरोप लागेको थियो । उनीमाथि थुप्रै महिलाहरूले यौन उत्पीडन र आक्रमण गरेकोको आरोप लगाएका थिए।

सन् २०१८ मा उत्तर कोरियाको यात्राका क्रममा क्यामेरामा कैद गरिएका यौनजन्य टिप्पणीमा उनी हाल छानबिनको घेरामा परेका छन् । यसै महिनाको शुरुमा राष्ट्रिय टेलिभिजनमा पहिलो पटक प्रसारण गरिएको यस विषयले धेरैको ध्यान खिचेको थियो र थुप्रै आलोचना पनि खेपेको थियो । 

यता नारीवादी सङ्गठनलेले म्याक्रोनका टिप्पणीहरू यौनहिंसा भोगेका सबै महिलाहरूका लागि 'अपमान' भएको बताएका छन् । राष्ट्रपतिका यस्ता अभिव्यक्तिले यौनहिंसा पीडितको मनोबल खस्किने र पीडामाथि पीडा थपिने भन्दै विभिन्न सङ्गठनका प्रतिनिधिहरू थप उत्तेजित भएका छन् ।

ग्रीन पार्टीकी सांसद स्यान्ड्रिन रुसोले राष्ट्रपतिको उक्त टिप्पणीलाई "यौन हिंसा पीडितहरूलाई आवाज दिने आन्दोलनको अपमान" भएको बताएका छन् । त्यस्तै महिला फाउन्डेसन नामक संस्थाकी प्रमुख आनी-सेसिल मेलफर्टले "पीडितहरूप्रति यो कति अपमानजनक र घृणित छ, र समयभन्दा कति पछाडि छ भनेर भन्न एकल ट्वीट पर्याप्त छैन" भन्ने टिप्पणी गरेका छन् । 

फ्रान्स २ टेलिभिजन च्यानलले अभिनेतालाई उनको २०१८ को उत्तर कोरियाको यात्रामा महिला दोभाषेको उपस्थितिमा बारम्बार स्पष्ट यौन टिप्पणीहरू गरेको र घोडामा सवार सानी केटीलाई यौन शोषण गरेको देखाएको छ।

पूर्व राष्ट्रपति फ्रान्कोइस ओलान्डले बिहीबार फ्रान्स इन्टर प्रसारकसँगको कुराकानीमा उक्त फुटेज हेरेपछि आफूलाई "जेरार्ड डेपार्डियोप्रति सम्मान नरहेको" बताएका छन् । यद्यपि अक्टोबरमा अभिनेताले आफ्ना विरुद्ध लगाइएका सबै आरोप अस्वीकार गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ