arrow

दक्षिण अफ्रिकाले भारतसँग घरमै हार्‍यो एक दिवसीय श्रृंखला 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ६ शुक्रबार
cricket-india-2023-12-22.jpg

काठमाडौँ । एक दिवसीय क्रिकेटमा दक्षिण अफ्रिका घरेलु मैदानमा भारतसँग पराजित भएको छ । दक्षिण अफ्रिकाले तीन खेलको श्रृंखला २–१ ले गुमाएको हो । 

पहिलो खेल भारतले र दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको अवस्थामा भएको तेस्रो तथा निर्णायक खेलमा बिहीबार राति भारत ७८ रनले विजयी हुँदै श्रृंखला २–१ ले जितेको हो । 

पार्लमा भएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा २९६ रन बनायो । सन्जु सामसनले ११४ बलमा १०८ तथा तिलक बर्माले ७७ बलमा ५२ रन बनाए । रिंकु सिंहले २७ बलमा ३८ रन बनाए । दक्षिण अफ्रिकाका बेउरन हेन्रिकले ३ विकेट लिए । 

जवाफमा दक्षिण अफ्रिकाले ४५.५ ओभरमा अलआउट हुँदै २१८ रनमात्र बनाउन सक्यो । टोनी डे जोर्जीले ८१ तथा कप्तान आइडेन मार्करमले ३६ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

कसिलो बलिङ गर्ने क्रममा अर्शदीप सिंहले ३० रन खर्चेर ४ विकेट लिए । सामसन प्लेयर अफ द म्याच भए भने सिंह प्लेयर अफ द सिरिज भए । उनले १० विकेट लिनुका साथै २५ रन बनाएका थिए । 

यसअघि भारतले दक्षिण अफ्रिकासँग तीन खेलको टी–२० श्रृंखला खेलेको थियो । जसमा पहिलो खेल वर्षाले हुन सकेको थिएन भने दोस्रो खेल दक्षिण अफ्रिकाले र तेस्रो खेल भारतले जितेको थियो । 

भारतले टी–२० क्रिकेटमा दक्षिण अफ्रिकामाथि अहिलेसम्मकै ठूलो जित दर्ता गरेको थियो । जोहानेसबर्गमा भएको तेस्रो तथा अन्तिम खेलमा १०६ रनको फराकिलो जित हासिल गर्दै भारतले कीर्तिमान रचेको हो । 

भारतले यसअघि दक्षिण अफ्रिकाविरुद्ध टी–२० मा कायम गरेको ८८ रनको जित नै सबैभन्दा ठूलो अन्तरको थियो । 

दक्षिण अफ्रिका भ्रमणमा भारतले अब दुई टेष्टको श्रृंखला पनि खेल्दैछ । 

पहिलो खेल आगामी मंगलबारदेखि हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ