arrow

फरक क्षमता भएका नागरिकलाई सरकारले प्रोत्साहन गर्छ : मन्त्री आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
surendra-acharya-2080-05-07.jpg
तस्बिर-फाइल

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले फरक क्षमता भएको व्यक्तिलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । 

नेपाल पर्यटन बोर्डको सभाहलमा आज आयोजित कवि दर्शन केसी ‘शान्कु’ले लेखेको अङ्ग्रेजी भाषाको कवितासङ्ग्रह ‘दर्शन’ सार्वजनिक गर्दै उनले फरक क्षमता भएका नागरिकलाई सरकारले सम्मान गर्ने बताइन् । 

“बालबालिकाको हकमा काम गर्न हामीलाई कानुनले रोकिरहेको थियो । विगत छ वर्षदेखि बालबालिका नीति मन्त्रालयमा अड्किएको रहेछ । मैले त्यसलाई अगाडि बढाएर हिजोको मन्त्रिपरिषद्को बैठकबाट पास गरेका छौँ”, मन्त्री आचार्यले भने, “अब मन्त्रालयले लक्षित कार्यक्रमलाई गति दिनेछ । फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा यस्ता कार्यक्रमले फरक ल्याउँछ । हामीले यस्ता प्रतिभालाई प्रोत्साहन गर्न जरुरी छ ।”

कवि केसीले नाकको सहायताले लेखेको कविता पढेर आफूलाई पनि केही गरौँ भन्ने लागेको अभिनेता राजेश हमालले बताए । 

“कहिलेकाहीँ म अल्छी हुन्छु, तर दर्शनजीको कविता पढेपछि कविता लेख्ने जाँगर बढेको छ किनकि परिस्थतिले हामीलाई छेक्दैन, हामीसँग उक्त कार्य गर्ने प्रेरणा चाहिन्छ । उहाँको कृतिले हामीलाई प्रोत्साहन गरेको छ”, अभिनेता हमालले भने । 

एभरेष्ट ग्यालरीले आयोजना गरेको कार्यक्रममा सहभागी भएर हौसला बढाएको भन्दै कवि केसीले उपस्थितलाई धन्यवाद दिए । 

“मलाई तपाईँहरूको साथले झनै प्रोत्साहन मिलेको छ । म आगामी दिनमा पनि लेखनलाई अगाडि बढाउने छु”, कवि केसीले लेखेको सन्देश उद्घोषकले पढेका थिए । उक्त अवसरमा कवितासङ्ग्रह बजारमा उपलब्ध भएको जानकारी गराइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ