arrow

गन्तव्यः एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग [फोटोफिचरसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
everest-dudhkoshi-padmarga-.jpg

सोलुखुम्बु । पछिल्लो समय नेपालमा विदेशी पर्यटकका साथसाथै स्वदेशी पर्यटकहरूको चहलपहलले नेपाली पर्यटन क्षेत्रमा केही उत्साह जागेको अवस्था छ । यो वर्षमात्रै नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को नौ महिना ( जनवरीदेखि सेप्टेम्बर ) सम्म ६ लाख ८५ हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिएका छन् । 

पर्वतीय सिजनमा पर्यटकहरूको संख्या वृद्धि हुने पर्यटन व्यवसायीहरू बताउँछन् । ट्रेकिङमा पनि विशेष गरी आन्तरिक पर्यटकहरूको संख्या पनि उत्साजनक नै छ । हिमाल आरोहण सँगसँगै नजिकबाट हिमाल हेर्नको लागि नेपालमा पदमार्गहरू थुप्रै छन् । 

यस्तै ट्रेकिङ गर्न मनपराउनेहरूको लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिकामा नयाँ पदमार्ग शुभारम्भ भएको छ । ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ नाम दिइएको पदमार्गमा तल्लो सोलुखुम्बु क्षेत्रबाट शुरू भइ विश्वकै सर्वोच्च शिखर सगरमाथासँगै २८ बढी हिमालहरू हेर्दै स्थानीय शेर्पा,  खालिङ राईहरूको संस्कृतिमा रमाउन पाइने छ । 

माप्य दूधकोशीको सहयोगमा दक्ष गाइड, नक्सा विज्ञ, जीपीएस एक्सपर्टलगायत टिमको निरन्तर अध्ययन र मेहनतपछि यो नयाँ पदमार्ग शुभारम्भ गरिएको छ । यो पदमार्ग सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरी बजारबाट ७ किलोमिटर दूरीमा माप्य दूधकोशी गाउँपालिकाको वडा नं ५ मा पर्ने सिलिगुडी डाडा (३०२०) मिटरबाट शुरू हुन्छ ।

काठमाडौँबाट हिँडेको पहिलो दिनमै सल्लेरी पुगेर त्यहाँबाट जिपमा सिलिगुडी डाडा पुग्न सकिन्छ । सिलिगुडी डाडामा गाउपालिकाको सहयोगमा गोठ स्टे तयार पारिएको छ । सल्लेरी – लुक्ला सडकखण्ड अन्तर्गत पर्ने सिलिगुडी डाडामा गोठ स्टे लगायत अन्य होटलहरू पनि छन् । सिलिगुडी डाँडामा यात्राको थकाइ मेटाउँदै पहिलो दिनको सूर्योदयसँगै सगरमाथा सँगसँगै २८ अन्य हिमालहरू देख्न पाइन्छ । 

यही डाँडाबाट एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग शुरू हुन्छ । सिलिगुडी डाँडाबाट रातनाङ्गे डाँडा हुँदै हिम श्रृङ्खलाहरूको मजा लिग्दै गुराँसै गुराँसको जङ्गल हुँदै करिब ४ देखि ५ घन्टाको ट्रेकिङपछि घुम्ने मेरा गाउँ पुग्छौ । 

घुम्ने मेरा शेर्पा समुदाय बसोबास गर्ने गाउँ हो । सांस्कृतिक पदमार्ग अन्तर्गत पर्ने घुम्ने मेरामा च्याङमितेङ गुम्बा पनि छ । त्यहाँ शाकाहारी खाना खाएर गुम्बामै स्थानीय शेर्पाहरूको नाच र संस्कृतिमा रमाउन पाइन्छ ।  

घुम्ने मेरामा केही समय बिताएपछि पहिलो दिनको गन्तव्य कुदाम मिड क्याम्पतर्फ लाग्छौँ । घुम्ने मेराबाट उकालो लाग्दै करिब २ घण्टाको हिँडाइपछि हामी कुदाम मिड क्याम्प पुग्छौँ । 

कुदाम मिड क्याम्प खुला चौर भएकाले अहिले तत्काललाई टेन्टहरू गाउँपालिकाले व्यवस्था गर्ने र गोठ स्टे बनाउनको लागि गाउँपालिकाले योजना अगाडि बढाएको छ । पहिलो रात कुदाम मिड क्याम्पमा बिताएर दोस्रो दिन बिहानै सूर्योदय हेर्न मिडक्याम्पदेखि १ घन्टा उकालो चढाइपछि कुदाम हाइ क्याम्प (३२०० मिटर ) । 

एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्गमा पर्ने सबैभन्दा उचाइमा पुग्ने कुदामबाट २८ ओटा भन्दा बढी हिमालहरू नजिकैबाट अवलोकन गर्न सकिन्छ । 

कुदामबाट नुम्बुरचुली (६९५९), कार्यलुङ (६५११), बिगफेरा (६६००), चोबुजे (६६८५), लोबुचे (६९९५), चुम्बु (६८५९), काङ्तेका (६७८३), मेरापिक (६४७६), चाम्लाङ (७३१९), लगायत अन्य २८ भन्दा बढी हिमालहरू देख्न पाइन्छ ।
 
कुदाम हाइक्याम्पमा दृश्यावलोकन गरिसकेपछि फेरि मिड क्याम्पमा झरेर खाना खाएर हामी, दोस्रो दिनको गन्तव्य योतेल्मेतर्फ लाग्छौँ । कुदाम मिड क्याम्प बाटो ओरालो बाटो हुँदै  करिब २ देखि ३ घन्टाको समयमा योतेल्मे पुग्न सकिन्छ । 

योतेल्मेमा गाउँपालिकाले पर्यटकलाई खान र बस्न मिल्ने गरी गोठ स्टे निर्माण गरेको छ । अब पदमार्ग पूर्ण रुपमा चल्ना लागेपछि त्यो गोठ स्टेमा स्थानीयलाई नै ठेक्का दिएर चलाउने योजना रहेको गाउँपालिका उपाध्यक्ष गौरव राईले जानकारी दिए । 

यो तेल्मेमा दोस्रो रातको बाससँगै नुम्बुरचुली र कार्यलुङको सुर्यास्तको निकै मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।

 तेस्रो दिन बिहान सूर्योदयसँगै उठ्दा पहेँला सुन जस्तै टल्केका हिमालहरू आँखै अगाडि देख्न पाउँदा मन आन्नदित हुन्छ । योतेल्मेबाट करिब ३ घन्टाको हिँडाइ पश्चात् खालिङ राईहरूको बसोबास गर्ने गाउँ ठूल ढुङ्गा पुगिन्छ । बिहानीको खाना राई संस्कृतिमा रमाउँदै भुमे नाचलगायत अन्य खालिङ राईसँग जोडिएका नाचहरू हेर्न पाइन्छ ।
 
‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ अन्तर्गतको तिन दिने ट्रेकिङ ठूल ढुङ्गा, जुन सल्लेरी – लुक्ला सडकखण्डको मुख्य गरी राई समुदायलगायत अन्य समुदाय बसोबास गर्ने ठुल ढुङ्गामा आएर सकिन्छ । 

यससँगै दिन लम्ब्याउन चाहनेको लागि यही पदमार्गबाट सगरमाथा आधार शिविर र मेरापिकको पदमार्गमा जोडिन सक्छौँ । 

एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्गलाई नमूना गन्तव्य बनाएर लैजाने तयारीसँगै बहु जातीय बसोबास रहेको गाउँपालिकामा सांस्कृतिक कुराहरूमा अध्ययन गर्न, घुम्नको लागि उपयुक्त रहेको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई बताउँछन् । 

पदमार्गसँगै सल्लेरी – लुक्ला सडकखण्डमै रक क्लाइम्बिङको पनि उदघाट्न गरिएको छ । माप्य दूधकोशी र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालको सहकार्य र माउन्टेन गाइड एसोसिएसन नेपालको प्राविधिक सहयोगमा उक्त रक क्लाइम्बिङ सेन्टर निर्माण गरिएको हो । उक्त भिर १२० मिटर अग्लो रहेको छ । 
 

everest-dudhkoshi-padmarga (1).jpg
everest-dudhkoshi-padmarga (2).jpg
everest-dudhkoshi-padmarga (3).jpg
everest-dudhkoshi-padmarga (4).jpg
everest-dudhkoshi-padmarga (5).jpg
everest-dudhkoshi-padmarga (6).jpg
everest-dudhkoshi-padmarga (7).jpg
everest-dudhkoshi-padmarga (8).jpg
everest-dudhkoshi-padmarga (9).jpg
everest-dudhkoshi-padmarga (10).jpg
everest-dudhkoshi-padmarga (11).jpg
everest-dudhkoshi-padmarga (12).jpg
everest-dudhkoshi-padmarga (13).jpg
everest-dudhkoshi-padmarga (14).jpg
everest-dudhkoshi-padmarga (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ