arrow

राष्ट्रपतिको प्रणः म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिने छैन  

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
ramchandra-poudel-2080-09-0.jpg

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने स्पष्ट पारेका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा शनिबार गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘म तपाईहरूलाई के विश्वास दिलाउन चाहन्छु भने कि मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन ।’

उनले आफूलाई संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिवद्धता पनि प्रकट गरे । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको महत्वपूर्ण भूमिका रहेको बताए । 

उनले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको आवश्यकतामा जोड दिए । स्वदेशी कच्चा पदार्थमा आधारित र उच्च मूल्य अभिवृद्धि हुने वस्तु तथा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गर्ने उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो । “सूचना प्रविधिलाई सहज र सरल नीतिगत आधार तयार गरिदिने हो भने व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका निभाउन सक्ने स्थिति छ”, उनले भने ।  

राष्ट्रपति पौडेलले भने, “मैले यहाँ भन्नै पर्दछ, जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्दै, वातावरण संरक्षणका साथ हरित अर्थतन्त्र र दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तह निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा अगाडि बढ्नुपर्दछ ।”

नेपालमा कृषि क्षेत्रको रुपान्तरण र उद्योग व्यवसायको विस्तार गरी उत्पादन वृद्धि र रोज‌गारी सिर्जना गर्न, निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापन गर्न, अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन तथा निरपेक्ष गरिबी निवारण गरी आर्थिक विकास गर्न सरकार एक्लैले सक्ने स्थिति छैन भन्दै राष्ट्रपति पौडेलले त्यसैले निजी क्षेत्रसँग सरकारले साझेदारी गरेमा मात्र यो सम्भव छ भने । “सार्वजनिक निजी साझेदारीलाई थप व्यापक र प्रभावकारी बनाउन आवश्यक छ”, उनले भने ।  

स्वदेशमै, गाउँघरमा सम्मानजनक रोजगारी र आम्दानीको सृजना नहुँदा सारा जनशक्ति विदेशिएर आज हाम्रा गाउँघर रित्तिदै छन् भन्दै उनले यो स्थितिलाई रोक्नका लागि हाम्रो कृषि, वन र खनिजमा आधारित उद्योगहरूको व्यापक विस्तार गर्नुपर्ने आवश्यकता उनले औँल्याए । 

“साथै विदेशी ठूला कम्पनीहरूसँग सहकार्य गरी विकसित देशहरूबाट उद्योगधन्दा ल्याई स्वदेशकै जनशक्तिलाई तालिम उपलब्ध गराउने तथा दक्ष, अर्धदक्ष जनशक्ति निर्माण गरी रोजगारी समस्या समाधान गर्नेतिर हामी लागौँ । यसको नेतृत्व हाम्रा तपाई उद्योगपति र व्यापारीहरुले नै गर्नुपर्ने आवश्यकता छ”, राष्ट्रपति पौडेलले भने । 

“ कुल लगानीमा दुई तिहाईभन्दा बढी लगानी भएको निजी क्षेत्रलाई  विश्वासमा लिएर नीतिगत आधार निर्माण गर्न मौजुदा नीति र कानुनहरुको समीक्षा गरी नयाँ नीति र ऐन निर्माण गर्ने, निजीक्षेत्र मैत्री ऐन, कानुन परिमार्जन गर्ने काम वर्तमान सरकारबाट हुन जरुरी छ”, राष्ट्रपति पौडेलले भने ।   

“कोभिड–१९ महामारीको प्रभाव स्वरूप अर्थतन्त्र शिथिल भएको अवस्थामा पनि पुनरुत्थान गर्न सरकारले चालेका कदमले केही सकारात्मक प्रभाव अवश्य परेकै छ, तर जसरी आन्तरिक अर्थतन्त्र चलायमान हुनपर्ने हो त्यसरी हुन सकिरहेको छैन । फलस्वरूप, रोजगारी सृजनालगायत आन्तरिक उत्पादनमा वृद्धि भई निर्यात बढ्न सकेको छैन भने राजश्वको लक्ष्य पनि प्राप्त गर्न गाह्रो परिरहेको छ । उद्योगधन्धा पूर्ण क्षमतामा चल्न सकेको स्थिति छैन । यो समस्याबाट कसरी निस्कने अबको हाम्रो चिन्ता र चासो त्यता केन्द्रित हुनुपर्छ”, राष्ट्रपति पौडेलले भने । 
 
सरकारले अर्थतन्त्रको सुधारका लागि चालेका कदम तथा रणनीति, निजी  क्षेत्रको सहयोग स्वरूप बाह्य क्षेत्र मजबुत अवस्थामा रहेको तथा विप्रेषणको वृद्धि दर राम्रो हुनुका साथै शोधानन्तर स्थिति बचतमा रहेको प्रसंग उल्लेख गर्दै उनले हाम्रो जस्तो देशको लागि विदेशी सञ्चितिको स्थितिले बढी महत्व राख्दछ भने ।

“विदेशी सञ्चिति  राम्रो अवस्थामा भएको हुँदा अफ्ठयारो अवस्थामा लिएका कदमहरूलाई सरकारले विस्तारै सामान्य गराउँदै लैजानुपर्दछ भन्ने लाग्दछ”, राष्ट्रपति पौडेलले भने । 

कोशी प्रदेशको कुरा गर्दा हलेसीका महादेव, ट्याम्केका सिद्धबाबा, पाथीभरा माता, छिन्ताङ् देवी, बराहक्षेत्र, यस प्रदेशका गुम्बा, मठमन्दिर, लोभरकटी किराँत मन्दिर लगायतलाई आर्कषक पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन सकिने विचार उनले व्यक्त गरे । 

“म के भन्न चाहन्छु भने यो क्षेत्रमा अगाध सम्भावना छ, चाहे त्यो पर्यटन होस्, उद्योग वा अन्य कुनै । तर हामीमा खाँचो छ केवल अठोटको, प्रतिवद्धताको, इमान्दारिता र नैतिक आचरणको । आज म यसतर्फ सवैको ध्यानाकर्षण गराउन चाहन्छु”, राष्ट्रपति पौडेलले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ