arrow

लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट निर्देशित छु – राष्ट्रपति पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ११ बुधबार
ramchandra-poudel-2080-09-1.jpg

बाग्लुङ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलन उठाउँदाकै आस्थाबाट अहिले पनि आफू अटल रूपले निर्देशित भएको बताएका छन् ।  

गण्डकी प्रदेश स्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवम् सातौँ बाग्लुङ महोत्सव २०८० को बुधबार बाग्लुङमा उद्घाटन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका छन् । 

“जुन आस्था र विश्वास बोकेर २०४६ सालमा म धौलागिरिमा आन्दोलन उठाउन आएको थिएँ, त्यो आस्था र विश्वासबाट म आजपर्यन्त अटलरुपले निर्देशित छु”, उनले भने, “आजको यो संविधान त्यसरीनै कठोर मेहनत र नेपाली जनताको रगत पसिनाले लेखिएको छ । यसरी जनताले बनाएको नेपालको संविधानलाई कसैले आँच पुर्याउन सक्ने छैन भनेर पनि विश्वास दिलाउन चाहन्छु ।”

आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माण गर्न, स्थानीय सम्भावना, उत्पादन र रोजगारीका अवसर वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यातलाई प्रोत्साहन गर्न जरुरी रहेको राष्ट्रपति पौडेलले बताए । उनले भने,“ महोत्सवले क्रेता र बिक्रेता एकै ठाउँमा जम्मा गर्ने भएको हुँदा बस्तुको उत्पादन, बजार, माग तथा आपूर्तिको  साथै स्थानीय प्रविधि र रोजगारीलाई  बढावा दिन्छ, मैले यो महोत्सवले यसमा सफलता प्राप्त गर्ने विश्वास लिएको छु ।”

स्थानीयस्तरमा परम्परागत रूपमा सञ्चालित उद्योगहरूको प्रतिस्पर्धामक क्षमता अभिवृद्धि गर्न मेशिनरी प्रतिस्थापन प्रविधि सुधार तथा पूर्वाधार निर्माणका लागि सहुलीयतपूर्ण कर्जाको आवश्यकतामा जोड दिँदै उनले यसका लागि स्थानीय र प्रदेश सरकारले स्थानीय कच्चा पदार्थमा आधारित लघु, घरेलु र साना उद्योगलाई बजार प्रवद्र्धनका कार्यक्रम दिन सक्नुपर्ने बताए । 

“मैले भन्नै पर्दछ, हरित अर्थतन्त्रको मान्यताअनुसार वातावरण संरक्षण र जलवायु परिर्वतन अनुकुल तथा न्यूनीकरणलाई स्थानीय स्तरबाटै निजी र सरकारी क्षेत्रले ध्यान दिनुपर्दछ”, राष्ट्रपति पौडेलले भने, “म यहाँ निजी क्षेत्रको तर्फबाट उपस्थित भएका अगुवाहरूलाई के भन्न चाहन्छु भने यी देखिएका हिमश्रृङ्खला, हामीले होश पुयाएनौँ भने नरहन पनि सक्दछ ।” 

राष्ट्रपति पौडेलले गण्डकी प्रदेशलाई चीन र भारतसँग जोड्नका लागि त्रिवेणीसम्म पुर्याउन आफूले संविधानसभामा निकै मेहेनत गर्नु परेको स्मरण गर्दै भने,  “कालीगण्डकी कोरिडोर सम्पन्न गर्न, मध्य पहाड़ी लोकमार्ग निर्माण कार्य पूरा गर्न भइरहेका बीचबीचका अबरोध हटाउन प्रतिनिधि सभाका तपाईहरूले  संसदमा आावाज उठाउनुहोस् म तपाईहरूको साथमा छु ।

राष्ट्रपति पौडेलले त्यस क्षेत्रको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र  सभ्यतालाई नेपाल र विश्व पर्यटन बजारमा प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्न सकिने प्रचुर संभावना रहेको बताउँदै यस ठाउँको भौगोलिक विविधता र विकटतालाई पृथक र नवीन पर्यटकीय थलोको रुपमा  विकास गरी नयाँ पुस्तालाई यस क्षेत्र र नेपाल भ्रमणको लागि आकर्षित गर्नुपर्ने आजको आवश्यकता भएको बताए ।

“यसका साथै, निजी क्षेत्रको लगानी, उद्यमशीलता र अनुभवलाई यस क्षेत्रको आर्थिक विकासमा परिचालन गर्न व्यवसायी मैत्री वातावरण तयार गर्नुपर्दछ भन्ने पनि मलाई लाग्दछ”, उनले भने । 

राष्ट्रपति पौडेलले पर्यटकीय पूर्वाधार विकासमा निजी क्षेत्रको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ र निजी क्षेत्रलाई लगानी गर्न मन लाग्ने वातावरण स्थानीय, प्रदेश र संघीय सरकारले ऐन, नियम परिमार्जित गरेर प्रोत्साहन गरिदिनुपर्दछ भन्ने आफूलाई लागेको उल्लेख गरे । 

प्रदेश सरकार र निजी क्षेत्रको सहकार्यमा पहाडी तथा हिमाली क्षेत्रमा मनोरञ्जनात्मक तथा साहसिक पर्यटनको लागि हिलस्टेशनहरू विकास गर्न आवश्यक छ भन्दै उनले सांस्कृतिक, धार्मिक, साहसिक, कृषि, स्वास्थ्य तथा खेल पर्यटक आकर्षित गर्दै यस क्षेत्रको मौलिक संस्कृति संरक्षणमा महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरे । 
 
पहिला फलाम र तामाको खानी भए पनि अहिले त्यसको उपयोग नभएको उल्लेख गर्दै उनले संभावित खानीको उपयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे ।  

यस क्षेत्रमा उत्पादन हुने कृषि उत्पादनहरूलाई व्यवसायीकरण, यान्त्रिकीकरण र आधुनिकीकरण गरेमा मात्र यस भेगका जनताको जीवनस्तर सुध्रिनेछ भन्दै राष्ट्रपति पौडेलले महोत्सवमार्फत निजी क्षेत्रले यहाँको उत्पादन हुने कृषि उपज र जडीबुटीलाई हाम्रो सामु ल्याएको हुँदा प्रदेश सरकारले यसको विकासमा उद्योगी व्यवसायीलाई  उत्प्रेरित गर्नुपर्ने आवश्यकता आफूले देखेको बताए ।

उनले बाग्लुङ राजनीतिक चेतनाको उर्वरभूमि मात्र नभएर धौलागिरि हिमशृङलासहितका प्राकृतिक छटाले सुसज्जित रहेको बताउँदै भने,“ धेरै विप्रेषण भित्राउने जिल्ला पनि हो बाग्लुङ, धेरै विषयमा बाग्लुङले आफूलाई प्रख्यात गराउन सकेको र यहाँका उद्योगी व्यवसायीहरूले राष्ट्रियस्तरमासमेत अर्थतन्त्रको बागडोर सम्हालेको देख्दा म हर्षित छु ।”

उनले सो अवसरमा आफूसँगै बाग्लुङ कारागारमा जेल जीवन बिताउने साथीहरु गोविन्द कँडेल, तनहुँका लक्ष्मी आचार्य र यहीँका नेता जगदिश उपाध्याय, रघुपति तथा ऋषि कँडेल, विष्णु गिरी, ढकप्रसाद, दिलप्रसाद र इश्वरीप्रसाद कँडेल, मणिभद्र चालिसे र दिलप्रसाद सापकोटालगायतका बाह्र पन्ध्र जना भाइहरू, जेलमा दूध, तरकारी पुर्याइदिने सापकोटा बाजे र बाग्लुङ बजार बिँहु–लेखानी, पैयूँपाटा, कुश्मीशेरा र पर्वत फलेवास, मणिकुँवा अनि पाङ, ग्यादी र कुश्माका साथीहरूलाई स्मरण गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ