- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त अहिले भइरहेको छ । फाइनलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र कोशी प्रदेश भिडिरहेका छन् ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सशस्त्रले टस जितेर पहिले ब्याटिङ गर्दैछ । प्रतियोगितामा एपीएफ अपराजित हुँदै फाइनलमा पुगेको हो । लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
त्यस्तै पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले इलिमिनेटरमा बागमती प्रदेशलाई हराएको सुदूरपश्चिम प्रदेशसँग खेल्दै ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
अब यस प्रतियोगितामा एपीएफ र कोशीबीच तेस्रो पटक भिडन्त हुँदैछ । यसअघिका दुवै भिडन्त एपीएफले जितेको थियो ।
लिग चरणमा एपीएफले ८ विकेटले कोशीलाई पराजित गरेको थियो । अब तेस्रो भिडन्तमा कोशीले एपीएफलाई हराएर बदला लिने अवसर रहेको छ ।
लिग चरणमा सशस्त्रले १४, कोशीले १२, सुदूरपश्चिमले १० तथा बागमती प्रदेशले ८ अंक हासिल गर्दै प्लेअफमा पुगेका थिए ।
मधेस प्रदेश ६, लुम्बिनी प्रदेश ४, गण्डकी प्रदेश २ तथा कर्णाली प्रदेश अंकविहीन हुँदै बाहिरियो । एक विभागीय र सात प्रदेश गरी आठ टिमबीच प्रतिस्पर्धा भएको हो ।