arrow

संविधान संशोधनको प्रस्ताव छिटै दर्ता हुन्छ: प्रधानमन्त्री दाहाल

logo
प्रकाशित २०७३ कार्तिक २६ शुक्रबार
prachandaatbiratnagar.jpeg
विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयन गर्ने मुख्य उद्देश्यका साथ सरकार गृहकार्य गरिरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ को विराटनगरमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले संविधान संशोधनको तयारी अन्तिम चरणमा पुगेको र केही दिनभित्रै संशोधन प्रस्ताव संसद्मा दर्ता हुने बताए । 
 
मुलुकका सबै असन्तुष्ट पक्षलाई समटेर अगाडि बढ्नुपर्ने चर्चा गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेस, पहाड र हिमालका जनतालाई एक्यवद्ध गर्नुपर्ने कार्यमा पार्टीका कार्यकर्तालाई अग्रणी भूमिका निर्वाह गर्नुपर्ने विषयमा जोड दिए । गरिबीको निम्ति जनताको पेन्सन कार्यक्रम, बेरोजगार युवाका लागि रोजगारलगायतका कार्यक्रम सरकार ल्याउन लागेको जानकारी गराउँदै उनले विकासका लागि सुशासन आवश्यक रहेको स्पष्ट पारे। 
 
कुनै समुदायलाई ‘काखा’ र कसैलाई ‘पाखा’ लगाउने राष्ट्रवादको नाराबाट कार्यकर्ता सचेत रहन आग्रह गर्दै प्रधानमन्त्री दाहालले सबैलाई एउटै मालामा उनेर अगाडि बढ्ने राष्ट्रवादको पक्षमा जुट्न कार्यकर्तालाई आह्वान गरे। आन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै छिमेकीसँग सुमधुर सम्बन्धलाई अझ मजबुत पारी अगाडि बढ्नु पर्ने उल्लेख गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सामाजिक सञ्चालको झुठो प्रचारबाट भ्रमित नहुन कार्यकर्तालाई सुझाव दिए । 
 
छिमेकी मुलुकको आर्थिक विकासबाट लाभान्वित हुनुपर्ने प्रसङ्ग उल्लेख गर्दै हालै भारत भ्रमणको अवसरमा मुलुकको विकासमा गति दिनका लागि हुलाकी राजमार्गको विषयमा सहमति गरेको जानकारी गराए । प्रधानमन्त्रीले हालै भारतका राष्ट्रपतिको भ्रमण सम्पन्न भएको र निकट भविष्यमै चीनको राष्ट्रपतिको भ्रमण हुने तथा नेपालको राष्ट्रपतिको आगामी दिनमा भारत भ्रमण हुने जानकारी गराए । 
 
राष्ट्रिय गौरव र ठूला योजनालाई छिटो सम्पन्न गर्न निर्देश दिएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले राम्रो काम गर्ने कर्मचारी पुरस्कृत हुने र नराम्रो काम गर्ने कर्मचारी कारबाहीमा पर्ने स्पष्ट पारे। राष्ट्रिय गौरव र ठूला आयोजनाको काममा ढिलासुस्ती देखिएकाले आफुले स्थलगत निरीक्षण र अवलोकन सुरु गरेको उल्लेख गर्दै उनले यस विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्य पदाधिकारीलाई समस्याको विषयमा जानकारी गराउनु र समयमै काम सम्पन गराउने वातावरण तयार पार्न निर्देशन दिएको बताए । 
 
मुलुकको नेतृत्व गर्ने अभिभारा आफ्नो पार्टीको काँधमा रहेको चर्चा गर्दै उहाँले पार्टीको सङ्गठनलाई बलियो बनाउन कार्यकर्तालाई आह्वान गरे। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ