arrow

नेपाल ओलम्पिक कमिटीसँग चिनियाँ प्रतिनिधिको शिष्टाचार भेट

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
noc-chinese-delicates-2080-.jpg

काठमाडौँ । चीनको चेचियाङ प्रान्तका खेलकुद प्रतिनिधिहरूले शुक्रबार नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूसँग शिष्टाचार भेट गरेका छन् । सातदोबाटोस्थित कमिटीको प्रधान कार्यालयमा भएको भेटमा दुई पक्षबीच सहयोग र सहकार्यको आदान प्रदान गर्नेबारे छलफल भएको थियो । 

चेचियाङ प्राप्तको प्रमुख शहर हाङचाउले हालै मात्र एसियाली खेलकुदको आयोजना गरेको थियो ।
 
त्यस अवसरमा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले हाङचाउले सफलतापूर्वक एसियाली खेलकुदको आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै चीनले नेपाली खेलकुदको विकासमा लामो समयदेखि लगातार सहयोग गर्दै आएको बताए । 

चिनियाँ प्रतिनिधि मण्डलका प्रमुख चेङ याउले एसियाली खेलकुदमा नेपालको उत्साहबर्धक सहभागिताका लागि धन्यवाद व्यक्त गरे ।

सहभागिताको आधारमा विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सवका रूपमा आयोजना भएको हाङचाउ एसियाली खेलकुदलाई अहिलेसम्मकै सफल मानिएको छ । 

त्यस प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो । याउ हाङचाउ एसियाली खेलकुद आयोजना कमिटीका उप–सचिव हुन् । यस्तै उनी चेचियाङ प्राप्तको खेलकुद ब्युरोका निर्देशकसमेत हुन् ।

उनले आफ्नो प्रान्त नेपालीको विकासका लागि सहयोग गर्न सधै तयार रहेको बताउँदै दुई पक्षबीच प्रतियोगिता र प्रशिक्षणका लागि खेलाडी आदान प्रदान गर्ने प्रस्ताव पनि राखे । 

उनले आफूहरू नेपालमा ड्रायगन–बोट खेलको प्रवर्द्धन र विकास गर्न पनि तत्पर रहेको बताए । दक्षिणी चीनमा यो खेल निकै लोकप्रिय रहेको र चीन अहिले यसको प्रचार प्रसारमा रहेको छ ।

चिनियाँ प्रतिनिधिमण्डलमा चेचियाङ कलेज अफ स्पोर्टसका डिन मेङ ग्वालियाङ, चिनह्वा म्युनिसिपालिटी ब्युरो अफ स्पोर्टसका सचिव हे चिचुन, लिसुइ स्पोर्टस डेभलपमेन्ट सर्भिस सेन्टरका निर्देशक हाङ योङह्वा र चेचियाङ कलेज अफ स्पोर्टसका उप–निर्देशक टोङ युकोङ रहेका थिए । 

त्यस अवसरमा ओलम्पिक कमिटीका प्रमुख पदाधिकारी पनि उपस्थित थिए । 



नयाँ