arrow

प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २० शुक्रबार
krishi-mela-pokhara-haripanta.jpg

पोखरा । पोखरामा शुक्रबारदेखि शुरु भएको प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनीको उद्घाटन सत्रका वक्ताले व्यावसायिक कृषि विकासका लागि कृषिलाई यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

परम्परागत र निर्वाहमुखी कृषि प्रणालीले किसानको उत्थान नहुने भन्दै उनीरूले आधुनिक कृषि प्रविधिलाई अवलम्बन गर्नुपर्ने धारणा राखेका हुन् ।

पोखरा प्रदर्शनी केन्द्रमा आयोजित प्रदर्शनीको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले कृषि नै देशको आर्थिक मेरुदण्ड भएको बताए ।

“हाम्रो अर्थतन्त्र भनेको कृषिमा आधारित हो, तर पछिल्लो समय कृषिजन्य उत्पादनको आयात बढ्दो छ”, उनले भने, “कृषिमा आत्मनिर्भर बन्न कृषिको यान्त्रिकीकरण र व्यावसायीकरण गर्नु जरुरी छ ।”

उत्पादन, उत्पादकत्व वृद्धि र बजारीकरणको सुनिश्चितता हुन नसके कृषि क्षेत्र झनै पछाडि पर्ने मन्त्री जिसीले उल्लेख गरे ।

कृषि क्षेत्रका समस्या एकातिर र नीति अर्कातिर भएकाले पनि कृषि क्षेत्रमा मुलुकले अपेक्षित फड्को मार्न नसकेको उनको भनाइ छ ।

उनले राज्यले कृषि क्षेत्रको लगानीलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने बताए । उनले गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजनामा कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने बताए ।

“पहिलो पञ्चवर्षीय योजनामा प्रदेशको समृद्धिको पहिलो आधार भनेर पर्यटनलाई राखिएको थियो, अबको आवधिक योजनामा भने कृषि पहिलो प्राथमिकतामा पर्छ, कृषिको बजेट पनि आगामी वर्षदेखि बढेर आउँछ”, उनले भने ।

प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले उत्पादन लागत घटाउन कृषिमा यान्त्रिकीकरण आवश्यक रहेको बताए ।

“देशमा श्रमशक्ति घट्दो क्रममा छ, यस्तो अवस्थामा कम लागत र श्रममा बढी उत्पादन लिनका लागि कृषि कार्यमा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ”, उनले भने, “नेपालको भौगालिक विविधताअनुसार जुन क्षेत्रमा जस्तो कृषि औजार, उपकरण र प्रविधि चाहिने हो त्यस्तै सामग्रीको उत्पादन र उपलब्धता हुनुपर्छ ।”

अगुवा किसान चित्रनाथ पौडेलले कृषिमा ८० प्रतिशत महिला आबद्ध रहेकाले कृषियन्त्र महिलामैत्री हुनुपर्ने बताए । उनले यान्त्रिकीकरण मात्र नभएर नहुने भन्दै बीउबिजन, मल, प्राविधिक ज्ञान पनि किसानलाई सँगसँगै दिनुपर्ने उल्लेख गरे ।

प्रदर्शनीको आयोजक संस्था नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका अध्यक्ष कृष्ण शर्माले कृषिसँग सम्बन्धित उद्यमी, व्यवसायी र किसानलाई राज्यको साथ चाहिएको बताए । उनले सरकारले कृषिको यान्त्रिकीकरण नीति ल्याए पनि व्यवहारिकरूपमा कार्यान्वयनमा आउन नसकेको उल्लेख गरे ।

“हामी नेपालमै कृषियन्त्र, उपकरण उत्पादन गर्न सक्षम छौँ, तर सरकारले तयारी वस्तुभन्दा कच्चा पदार्थ ल्याउँदा बढी भन्सार शुल्क तोकेको छ, यसरी उद्यमशीलता प्रवर्द्धन हुँदैन”, अध्यक्ष शर्माले भने । उनले व्यावसायिक कृषिको विकासका लागि राज्यले किसान र व्यवसायीमैत्री नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले प्रदर्शनीमा ७० व्यावसायिक तथा प्रवर्द्धनात्मक कक्ष रहेको जानकारी दिए । उनका अनुसार दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण तथा प्रविधिका सामग्रीे प्रदर्शनीमा राखिएको छ ।

“विदेशी उत्पादक कम्पनीले पनि प्रदर्शनीमा भाग लिएका छन्”, उनले भने, “व्यवसायी तथा किसानलाई कृषियन्त्र, उपकरणबारे जानकारी दिनुका साथै बिक्रीको पनि प्रबन्ध गरिएको छ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवर्द्धक रहेको सो प्रदर्शनीमा महानगरपालिकाले अनुदानमा आफ्ना किसानलाई कृषि उपकरण र सामग्री वितरणसमेत गरिरहेको महाशाखा प्रमुख कडरियाले बताए ।

पोखरामा पहिलोपटक आयोजना गरिएको उक्त प्रदर्शनीबाट यस क्षेत्रका किसानले प्रत्यक्ष लाभ लिने उनको भनाइ छ ।

“कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रिकीकरणलाई अवलम्बन गर्न यो प्रदर्शनीले किसानलाई प्रेरित गर्छ, नयाँ-नयाँ प्रविधिबारे किसानले सिक्ने र बुझ्ने अवसर पनि पाउँछन्”, महाशाखा प्रमुख कडरियाले भने ।

प्रदर्शनीमा स्थानीय कृषि उत्पादन, फलफूल, परम्परागत बालीका प्रकार, हस्तकलाका सामग्रीलगायत पनि राखिएको छ ।

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा उक्त प्रदर्शनी सुरु गरिएको हो ।

आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ