arrow

होटल व्यवसायी र कर्मचारीको क्षमता अभिवृद्धि गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
haan-talim.jpg

पोखरा । स्वच्छ र पर्यटनमैत्री सेवा प्रवाह गर्न गण्डकी प्रदेशका होटल व्यवसायी तथा कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । 

होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको संयुक्त आयोजनामा सोतालिम सञ्चालन गरिएको हो । 

महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालका अनुसार पहिलो चरणमा कालीगण्डकी करिडोरअन्तर्गत पर्ने जिल्लाका होटल सञ्चालक र कर्मचारीलाई तालिम दिइएको छ । 

गत चैत अन्तिम साता नवलपुरमा, शनिबार र आइतबार म्याग्दीको बेनीमा दुईदिने तालिम आयोजना गरिएको उनले जानकारी दिए । यही महिनाको अन्तिम साता तनहुँ र जेठ दोस्रो साताभित्र मनाङमा तालिम दिइने उनले बताए । 

तालिम सम्पन्न भइसकेका दुई जिल्लामा ७० भन्दा बढी होटल व्यवसायी र कमर्चारीको सहभागिता रहेको महासङ्घले जनाएको छ । 

“होटलमा कार्यरत जनशक्तिको समयसापेक्ष सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन भइरहेको हो”, अध्यक्ष चोखालले भने, “तालिमले होटलको सेवा थप गुणस्तरीय र मर्यादित हुने अपेक्षा लिइएको छ ।”

पोखरा पर्यटनको समेत राजधानी घोषणा भएका सन्दर्भमा यहाँ सञ्चालित होटलले पर्यटकमैत्री सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।

धार्मिक पर्यटनका हिसाबले  गण्डकी प्रदेश महत्वपूर्ण रहेकाले पर्यटक आवागमनको वृद्धिसँगै होटलहरुले आफ्नो आन्तरिक क्षमता र सेवाको गुणस्तर बढाउनुपर्ने चोखालले बताए । 

तालिममा खाद्य स्वच्छता, सरसफाइ, पोसाक, पर्यटकमैत्री व्यवहार तथा आचरण, व्यवसायमा प्रविधिको प्रयोग, व्यवसायी र कर्मचारीबीचको सम्बन्ध, व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको व्यावसायिकीकरण लगायत विषयमा विज्ञहरुले सीप सिकाउने महासङघका महासचिव देवेन्द्र लम्सालले जानकारी दिए । 

तालिमको प्रमुख प्रशिक्षकमा नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्रिन्सिपल प्रकाश रेग्मी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँका प्रमुख ज्योति आचार्यलगायत छन् । 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नवीन पोखरेलले कालीगण्डकी र मर्स्याङ्दी करिडोर क्षेत्रका साना तथा मझौला व्यवसायी र कर्मचारीलाई लक्षित गरेर तालिम सञ्चालन गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ