arrow

बढ्यो देशभर चिसो

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २१ शनिबार
kamlo-bundai-RSS.jpg
तस्बिर– जाडो छेक्ने साधन काम्लो, दाङको घोराही उपमहानगरपालिका १८ स्थित ढोडेनी निवासी प्रेम पुन भेँडाको ऊनबाट परम्परागत घरेलु तानमा काम्लो बुन्दै । रासस

काठमाडौँ । पछिल्ला दिनमा तापक्रम निरन्तर घट्दा देशभर चिसो बढिरहेको छ । सङ्घीय राजधानी काठमाडौँसहित देशभर चिसो ह्वात्तै बढेकाले यसबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
     
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ । 

शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम तीन डिग्रीसेल्सियस थियो । काठमाडौँमा बिहानीपख हुस्सु लागे पनि दिउँसो पारिलो घाम लाग्ने गरेको छ । 

“तापक्रम हल्का घटिरहेको छ । यही तरिकाले तापक्रम ओरालो लाग्ने हो भने माइनसमा जानसक्छ”, मौसमविद् अधिकारीले भने ।
     
आइतबार बिहान न्यूनतम तापक्रम दुईदेखि चार डिग्रीसेल्सियस हुने पूर्वानुमान गरिएको छ । आज बिहान काठमाडौँको भिजिबिलिटी चार किलोमिटर रहेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भए पनि आगामी तीन दिनसम्म उल्लेखनीय मौसम प्रणाली नरहने मौसमविद् अधिकारीले जानकारी दिए ।
     
जुम्लामा सबैभन्दा धेरै तापक्रम घरेर माइनस पाँच दशमलव सात डिग्रीसेल्सियस रहेको छ । शुक्रबार जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीसेल्सियस थियो । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । 

कोशी, मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु–कुहिरो लागेको छ ।
     
दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ