arrow

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड माघ १२ मा

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २२ आइतबार
nsjf-award-2080.jpg

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २० औँ संस्करण आगामी माघ १२ गते हुने भएको छ। अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै पल्सरको आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीसँग सम्झौता गरेको छ । 

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

२०६० सालदेखि हुँदै आएको नेपाली खेलकुदको लोकप्रिय अवार्डलाई गोल्छा ग्रुपले साथ दिएको यो लगातार १५ औँ वर्ष हो । सम्झौताअनुसार गोल्छा ग्रुपले यस पटक पाँच वटा बजाज पल्सरको एन सिरिज मोटर साइकल प्रदान गर्नेछ । 

जसमा एन २५० दुई ओटा र एन १६० तीन ओटा मोटर साइकल रहेको छ। साथै गोल्छाले १२ लाख रुपैयाँ नगद पनि दिने उल्लेख गरेको छ । 

पल्सर स्पोर्टस अवार्ड नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम हो ।
  
सो अवसरमा कम्पनीमा निर्देशक अभिमन्यु गोल्छाले पल्सरको उद्देश्य नेपाली खेलकुदसँगै युवाहरूसँग जोडिनु रहेको उल्लेख गर्दै यो अवार्डले नयाँ बेन्चमार्क स्थापित गरेको धारणा राखेका थिए ।

उनले भने, ‘मञ्चले हरेक अवार्डमा नयाँ–नयाँ शैली र प्रविधि अपनाएर अवार्डलाई उच्च स्तरको बनाएको छ । मञ्चसँग सहकार्य गर्न पाउदा गोल्छा ग्रुप गर्व महसुस गर्छ । 

जस्तोसुकै आर्थिक परिस्थिति भए पनि गोल्छाले मञ्चसँग सहकार्य गर्दै जानेछ ।’

मञ्चका अध्यक्ष सुवेदीले आर्थिक रूपमा कठिन परिस्थितिमा कम्पनीले लगातार अवार्डलाई साथ दिएकोमा गोल्छा ग्रुपको कदमको सराहनीय गरे । 

यस पटक मनोनयनमा पर्ने खेलाडी र अवार्ड कार्यक्रमको ढाँचामा परिवर्तन गरिने एनएसजेएफले जनाएको छ। यसअघि प्रज्ञा प्रतिष्ठानमा अवार्ड भए पनि केही नयाँ गर्ने उद्देश्यले कार्यक्रम स्थल र कार्यक्रमको शैलीमा परिवर्तन गरिने मञ्चका अध्यक्ष सुवेदीले बताएका छन् । 

यसवर्ष पनि अवार्डमा ९ विधा नै समावेश छ । जसअन्तर्गत वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, वर्षका उत्कृष्ट खेलाडी युवा, वर्षका उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड छन् । यी पाँच जना अवार्ड विजेताले पल्सर मोटरसाइकल पाउने छन् । 

यीमध्ये वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ ।

यस अवार्डमा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड विधा रहनेछ ।

यस विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर पाउने छन् । 

मनोनयन नहुने विधा लाइफटाइम, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विजेताको घोषणा कार्यक्रमकै दिनमा गरिने छ । 

गत वर्ष पुरुषतर्फ फुटबलका अञ्जन विष्ट, महिलातर्फ भलिबलकी अरुणा शाही र प्रशिक्षकतर्फ फुटबलका अब्दुल्लाह अलमुताइरी, युवामा मनीष डाँगी उत्कृष्ट भएका थिए । 

पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी थिइन् । स्पेसल अवार्ड दानबहादुर तामाङ र उनकी पत्नी मायादेवी मोक्तानलाई प्रदान गरिएको हो । उनीहरू ब्याडमिन्टनका रत्नजित, सरादेवी र नङ्सदेवीका मातापिता हुन् । 

पारा एथलिट सम्मान तेक्वान्दोकी पलेशा गोवर्धन, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहम्मद हिजी र लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पिक रघुराज वन्तलाई प्रदान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ