arrow

हसिना पाँचौँ पटक प्रधानमन्त्री बन्दै, विपक्षीको विरोध  

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
shekh-hasina.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको दलले संसद्मा तीन चौथाइ सिट जितेको निर्वाचन अधिकारीहरूले सोमबार बताएका छन् । निर्वाचन आयोगका सहसचिव मोनिरुज्जमान तालुकदरले भने, “अवामी लीगले आइतबार सम्पन्न निर्वाचन जितेको छ । 

प्रधानमन्त्री हसिनाको दल आवामी लीगले २२३ सिट जितेको छ । निर्वाचनमा ४५ स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।” विजयी भएका सांसद्मध्ये अधिकांश अवामी लीगसँग आबद्ध व्यक्ति भएको केही स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

यो विजयपछि हसिना पाँचौ पटकका लागि पुनः देशको कार्यकारी बन्न पाउने निश्चित भएको छ । 

प्रधानमन्त्री शेख हसिनाको राजीनामा र कामचलाउ सरकारद्वारा निर्वाचन गर्न गरेको विपक्षी दलको मागलाई वेवास्ता गरेको र यस्तो अवस्थामा हुने निर्वाचन स्वतन्त्र तथा निष्पक्ष हुनेमा आशङ्का गर्दै पूर्वप्रधानमन्त्री खालिदा जिया नेतृत्वको प्रमुख विपक्षी दल बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) सहितका केही दलले आइतबारको मतदान बहिस्कार गरेका थिए । 

मुख्य विपक्षी दल बीएनपीसहितका हसिनाको नेतृत्वप्रति असन्तुष्ट केही दलले निर्वाचन बहिष्कार गरेको र निर्वाचनमा रहेका अन्य विपक्षी दलको प्रभाव निकै कम रहेकोले हसिनाको पार्टी र साझेदारहरूले थप सिट पनि जित्ने अनुमान गरिएको छ ।

बीएनपीले निर्वाचनलाई ‘स्वाङ’ को सङ्ज्ञा दिएको छ । बीएनपीका नेता र समर्थकहरूको व्यापक गिरफ्तारीपछि आइतबार सम्पन्न निर्वाचनको परिणाम आएको छ ।

बङ्गलादेशको निर्वाचन आयोगले निर्वाचनमा झन्डै ४० प्रतिशत मत खसेको बताएको छ । यद्यपि आलोचकहरूले उक्त सङ्ख्या पनि बढाइचढाइ प्रस्तुत गरिएको हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।

सन् २०१८ मा सम्पन्न निर्वाचनमा ८० प्रतिशतभन्दा बढी मतदान भएको थियो । निर्वाचनको सम्पूर्ण परिणाम आइनसकेकोले निर्वाचन परिणामको औपचारिक घोषणा हुन बाँकी नै छ ।

शेख हसिना सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेकी थिइन् । त्यसपछि सन् २००९, २०१४ र २०१८ मा भएका निर्वाचनमा उनी प्रधानमन्त्रीका रूपमा क्रमशः दोस्रो, तेस्रो र चौँथो पटक निर्वाचित भएकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ