arrow

भारतीय लगानीकर्तालाई नेपालको ऊर्जा र पर्यटनमा लगानी गर्न महासङ्घका अध्यक्ष ढकालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
chandra-dhakal-india-nepal-business-forum.jpg

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले भारतीय लगानीकर्ताहरूलाई नेपालको फस्टाउँदो ऊर्जा र पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।

सोमबार काठमाडौँमा आयोजित नेपाल–इन्डिया बिजनेस फोरमलाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष ढकालले द्रुत रूपमा बढ्दो नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानीका प्रशस्त सम्भावनाहरू रहेको बताएका छन्।

उनले नेपालमा पर्यटन पूर्वाधारको क्षेत्रमा हालै भएको उल्लेख्य विकासबारे चर्चा गर्दै भैरहवा र पोखरामा दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सञ्चालनसँगै नेपालमा पर्यटन क्षेत्रको सम्भावनाको ढोका खुलेको बताए।

उनले नेपालमा होटेल, केवल कार, थिम पार्क, साहसी पर्यटन, खेल पर्यटन तथा माइस पर्यटनको ठूलो सम्भावना रहेको र यसमा भारतीय लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे।

“नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मारेको छ। म भारतीय लगानीकर्ताहरूलाई नेपालमा बढ्दो पर्यटन सम्भावनालाई प्रयोग गर्दै यहाँका विविध क्षेत्रमा लगानी गर्न आग्रह गर्न चाहन्छु। दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सँगसँगै पर्यटकको आगमन बढेको छ। यसले धेरै क्षेत्रमा लगानी गरी फाइदा लिन सक्ने वातावरण बनाइदिएको छ,” उनले भने।

उनले नेपालमा परम्परागत क्षेत्र भन्दा बाहिर रहेका नयाँ र उदीयमान क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, कृषि र उत्पादन क्षेत्रमा लगानीका लागि सहकार्य गर्नका लागि समेत आग्रह गरे।

नेपालमा लगानी गरेका भारतीय र बहुराष्ट्रिय कम्पनीले निकै राम्रो प्रतिफल लिइरहेको बताउँदै अध्यक्ष ढकालले भारतीय लगानीकर्तालाई विभिन्न क्षेत्रमा लगानी गर्न र यसको फाइदा उठाउन आह्वान गरे।

नेपालमा भारतीय लगानीले नेपालको आर्थिक विकासमा मात्र योगदान पुर्‍याउने नभई दुई देशबिचको आर्थिक सम्बन्ध पनि बलियो बनाउने विश्वास उनले व्यक्त गरे।

अध्यक्ष ढकालले निजी क्षेत्रसँगको सहकार्यमा नेपाल सरकारले यही वैशाखमा आयोजना गर्न गइरहेको लगानी सम्मेलनको चर्चा गर्दै त्यसमा भारतीय लगानीकर्ताहरूलाई सक्रिय सहभागिताका लागि आमन्त्रण समेत गरे।

हालै भारतीय विदेश मन्त्री जय सङ्करको भ्रमणको अवसरमा नेपाल र भारतबिच १० हजार मेगावाटसम्म नेपालको विद्युत् भारतीय बजारमा लिने विषयमा भएको सम्झौताले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई ठूलो अवसर सृजना गरेको उनले बताए।

अध्यक्ष ढकालले क्षेत्रीय रूपमा व्यावसायिक गतिविधि विस्तार गर्न र क्षेत्रीय व्यापार प्रवर्द्धन गर्न आफूले बिम्स्टेक बिजनेस फोरमको प्रस्ताव गरेको बताउँदै त्यसलाई अगाडि बढाउन आवश्यक सहयोग गर्न इन्डियन च्यामबर अफ कमर्सलाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ