arrow

सुर्खेत विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २५ बुधबार
surkhet-bheriganga.png

कर्णाली । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुर्खेत विमानस्थल विस्तारबारे मंगलबार सर्वपक्षीय छलफल भएको छ । 

बैठकले विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका सन्दर्भमा छ बुँदे निर्णय गरिएको छ । 

बैठकले हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन अत्यावश्यक भौतिक पूर्वाधार निर्माणका लागि प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

 विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको चलनचल्तीको मूल्यमा प्रभावितलाई मुआब्जा उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत सङ्घीय सरकारसँग पहल गर्ने र यससँग सिमाना जोडिएको अमरज्योति नमूना माध्यमिक विद्यालयलाई उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित पहलकदमी लिन प्रदेश सरकारसँग सम्झौता गर्ने पनि निर्णय गरिएको छ ।

बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा सुर्खेत विमानस्थलबाट नियमित हवाई सेवा सञ्चालन गर्न सरकारसँग मागका साथै प्रदेश सरकारको ध्यानाकर्षण गराउने र यात्रु विश्रामदेखि अन्य भौतिक संरचनाको व्यवस्था नभएका विमानस्थलमा तत्काल टर्मिनल भवन, यात्रु बस्ने स्थान, व्यवस्थित शौचालयलगायतका भौतिक संरचना निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग माग गर्ने निर्णय भएको छ । 

सर्वदलीय एवं सर्वपक्षीय बैठकबाट गरिएका निर्णयलाई वीरेन्द्रनगर नगरपालिकाको कार्यपालिकाको बैठकमार्फत कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णयसमेत गरिएको नगरप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । 

बैठकमा सांसद हृदयराम थानी, प्रदेशसभा सदस्यद्वय यामलाल कँडेल र जानकी सिंह, जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गङ्गाराम सुनार, उद्योग वाणिज्य सङ्घ, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजलगायत सरोकारवालाको सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ