arrow

दुई सुपर ओभरमा अफगानिस्तानलाई हरायो भारतले 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
india-t20-win-2024-01-17.jpg

काठमाडौँ । अफगानिस्तान विरुद्धको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । भारतले बेंगलुरुमा बुधबार राति भएको अविश्मरणीय खेलमा निर्धारित ओभरको खेलमा टाइ भएपछि सुपरओभरमा छिनोफानो भएको हो । 

पहिलो सुपर ओभरमा पनि टाइ भएपछि दोस्रो सुपर ओभरमा खेल भारतले जितेको हो । 

खेलमा पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा २१२ रन बनायो । २२ रन जोड्दा ४ विकेट गुमाइसकेको भारतका लागि पाँचौँ विकेटका लागि अहिलेसम्मकै सबैभन्दा बढी अविजित १९० रनको साझेदारी भएसँगै भारतले सम्मानजनक योगफल बनाएको हो । 

सो क्रममा कप्तान रोहित शर्माले शतक र रिंकु सिंहले अर्धशतक बनाए । शर्माले ६९ बलमा १२१ तथा सिंहले ३९ बलमा ६९ रन बनाए । फरिद अहमदले ३ विकेट लिए । 

रोहितले टी–२० मा सबैभन्दा बढी ५ शतक बनाउने कीर्तिमान रचेका छन् । उनले भारतीय सूर्यकुमार यादव र अष्ट्रेलियाका ग्लेन म्याक्सवेलको ४ शतकलाई पछाडि छोडेका हुन् । 

भारतीय खेलाडी रोहित शर्मा र पाकिस्तानका खेलाडी बाबर आजमले ३ शतक बनाएका छन् । 

रोहित सबैभन्दा बढी छक्का हान्ने कप्तान पनि हुन् । उनले ५४ खेलमा १ हजार ६४८ रन बनाउने क्रममा ९० छक्का हानेका छन् । 

जवाफमा अफगानिस्तानले ६ विकेटको क्षतिमा २१२ रन बनायो । गुल्बादिन नइबले २३ बलमा अविजित रहँदै ५५, रहमुल्लाह गुर्बाजले ३२ बलमा ५०, कप्तान इब्राहिम जद्रानले ४१ बलमा ५० तथा मोहम्मद नइबले १६ बलमा ३४ रन बनाए । वासिंगटन सुन्दरले ३ विकेट लिए । 

निर्धारित ओभरको खेलमा टाइ भएपछि खेल सुपर ओभरमा गयो । अफगानिस्तानले पहिले ब्याटिङ गर्दै १ विकेटको क्षतिमा १६ रन बनायो । जवाफमा भारतले पनि कुनै विकेट नगुमाइ १६ रन नै बनायो । 

दोस्रो सुपर ओभरमा भारतले पहिले ब्याटिङ गर्दै २ विकेटको क्षतिमा ११ रन बनायो । जवाफमा अफगानिस्तानले २ विकेट गुमाएर १ रनमात्र बनायो । 

यो रोमाञ्चक जितसँगै भारतले विश्वकप टी–२० अगाडिको श्रृंखला ३–० ले जितेको छ । 

यसअघि पहिलो र दोस्रो खेल भारतले ६ विकेटले जितेको थियो । अफगानिस्तानले अहिलेसम्म भारतलाई टी–२० मा हराएको छैन ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ