arrow

वडा सदस्यहरुकाे प्रश्न-हाम्रो काम ताली पिट्ने मात्रै हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ४ बिहिबार
ward-mamber.jpg

पोखरा । पोखरा महानगरपालिका भित्रका वडा सदस्यहरुले आफ्नो कर्तव्य, भूमिका र अधिकारको खोजी गर्न थालेका छन् । जनताकै मतबाट निर्वाचित भएर पनि कथंकदाचितबाहेक जिम्मेवारी र भूमिका नपाइएको भन्दै वडा सदस्यहरु यस विषयमा छलफलमा जुटेका हुन् ।

वडामा पिल्सिएर बसेका सदस्यहरु पहिलाेपटक बुधबार पोखराको दि भिलेज रेष्टुरेन्टमा जम्मा भएर आफ्ना अधिकारका विषयमा छलफल गरे । सो अवसरमा महानगरका ३ दर्जन भन्दा बढी सदस्यहरु सहभागी थिए ।

यस विषयमा अझै गहन ढंगले छलफल गर्न उनीहरुले वनभोज आयोजना गर्ने भएका छन् । सो वनभोजमा सकेसम्म सबै वडा सदस्यलाई सहभागी गराइने भएको छ ।

उनीहरुले कुनै पनि राजनीतिक दल नभनि वडा सदस्यको रुपमा मात्र रहेर आफ्नो भूमिका र अधिकारबारे छलफल गर्ने बताएका छन् ।

‘आफूलाई जनप्रतिनिधि भनेर सम्वोधन मात्र गरिन्छ तर जनप्रतिनिधिको भूमिका कहिँ पनि निर्वाह गर्न पाएनौँ’, एक वडा सदस्यले भने, ‘वडाध्यक्षले त हामीलाई वैरी जस्तो ठान्नुहुन्छ, एक किसिमले भन्ने हो भने वडाध्यक्षका लागि सदस्यहरु घाँडो नै भएका छन् ।’

उनले थपे, ‘म पनि जनताकै मतले वडामा पुगेको हुँ । तर आफ्नो कुरा, आफ्ना विषय कहिँ कतै समावेश हुँदैन । वडाध्यक्षको निर्णयमा सही गर्ने, केही कार्यक्रमहरु हुँदा वडाध्यक्षकै पछि लाग्ने र महानरको नगरसभामा सही गर्ने बाहेक केही काम छैन ।’

‘कहिँ कतै कार्यवाहक पाइहाले पनि औपचारिकता बाहेक अन्य केही काम नै हुँदैन’, उनले भने, ‘त्यही भएर हामीहरु जम्मा भएका हौं । बस्छौँ छलफल गछौँ । दुःख, सुख साटासाट गर्छौं ।’

बुधबार जम्मा भएका वडा सदस्यहरुका बीचमा पछिल्लो समयमा पोखरा महानगरमा देखिएको कर विवादका विषयमा छलफल भएको पोखरा-५ का वडासदस्य गोविन्द प्रसाद पराजुलीले बताए । सहभागी सबै सदस्यको विचार कर घटाएर जनतालाई राहत दिनुपर्छ भन्ने नै रहेको उनले बताए ।

‘महानगरले पनि केही काम पर्दा वडाध्यक्षलाई मात्र बोलाउँछ, हामीलाई त कसैले एक कल फोनसमेत हान्दैनन्’, लेखनाथ क्षेत्रका एक वडासदस्य भन्छन्, ‘हाम्रो भूमिका वडामा वडाध्यक्षको निर्णयमा सहीछाप गरिदिने र नगरसभामा साक्षी बसेर ताली पिटिदिने मात्रै भइरहेको छ ।’

नगरसभामा नगर प्रमुखबाहेक सबै जनप्रतिनिधिको हैसियत बराबर भएपनि विभेद गर्ने गरिएको उनको गुनासो छ ।

पोखरा-२६ का वडासदस्य सुदीपराज ढुंगाना भन्छन्, ‘आफूखुसी कर बढाउने र सदस्यहरु मुकदर्शक भएर ताली बजाउने । अधिकांश सदस्यलाई त्यो बारेमा जानकारी पनि छैन ।’

उनले अघिल्लो नगरसभामा आफूसहित केही नगर सभासदले विरोध गर्दै सभा बहिष्कार गर्दा अरु सबैलाई दूधको साक्षी बिरालो बनाइएको बताए ।

उनले थपे, करमा सबैभन्दा बदि विभेद ग्रामिण भेगका वडाहरुमा छ । बाँझा र लाखु दौडने बारी जहाँ केही उत्पादन हुँदैन । त्यसमा हजारौँ कर थोपरिएको छ ।’

वडा सदस्यहरुले संविधानले पनि आफूहरुमाथि अन्याय गरेको दुःखेसो गरेका छन् । संविधानमा वडाध्यक्षका लागि ५५ वटा जिम्मेवारी दिएपनि वडासदस्यले गर्ने काम दुई वटा मात्रै तोकिएको भन्दै दुःखेसो पाखे ।

संविधानमा वडा सदस्यको काम, कर्तव्य र अधिकारका भनेर दुई वटा वाक्य उल्लेख छ । जसमा वडा समितिको बैठकमा सहभागी हुने र तोकिए बमोजिम वा वडाध्यक्षले तोकेको काम गर्ने छन् । संविधानले नै वडासदस्य आवश्यक नभएको जस्तो गरेको उनको दुःखेसो छ ।

संविधान अनुसार प्रत्येक वडामा ४ जना सदस्य रहन्छन् । जसमध्ये केही कार्यपालिका र केही न्यायिक समितिमा पुग्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ