arrow

सिरियामा इरान निकट नेतालाई लक्षित गरी इजरेली आक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ ७ आइतबार
china-warplanes-fighter-aircraft-taiwan-land.jpg

काठमाडौँ । इजरेल र हमासबीचको युद्धलाई लिएर क्षेत्रीय तनाव बढिरहेका बेला शनिबार दमास्कसमा इजरेलले गरेको हवाई आक्रमणमा परी पाँच जनाको मृत्यु भएको युद्ध अनुगमनकर्ताले बताएका छन् ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ, “इजरेली क्षेप्यास्त्र आक्रमणमा चारतले भवनलाई निशाना बनाइएको र पाँच जनाको मृत्यु भएको छ । इरानसमर्थित नेताहरूको बैठक भइरहेको सम्पूर्ण भवन ध्वस्त पारेको छ ।”

सिरियामा रहेका स्रोतहरूको सञ्जालसँग सम्बन्धित बेलायती निगरानीकर्ताका अनुसार लक्षित इलाका इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) र इरान समर्थक प्यालेस्टाइनी गुटका नेताहरूको उच्च सुरक्षा क्षेत्र मानिन्छ ।

अब्जरभेटरीका निर्देशक रामी अब्देल रहमानले भने, “ती समूहका वरिष्ठ सदस्यहरूलाई लक्षित गरेर आक्रमण गरिएको थियो ।”

सिरियाको सरकारी सञ्चार माध्यमले पनि मध्यरातमा भएको आक्रमणका कारण आकाशमा धुवाँको मुस्लो उडेको जनाएको छ ।

सरकारी समाचार संस्था सानाका अनुसार दमास्कसको माजेह इलाकामा रहेको एक आवासीय भवनलाई लक्षित गरी आक्रमण गरिएको छ । उक्त समाचारमा हताहत भए-नभएको भने बताइएको छैन ।

घटनास्थलमा रहेका एएफपीका संवाददाताका अनुसार क्षतिग्रस्त भवनलाई एम्बुलेन्स, अग्निनियन्त्रक र सिरियाली अरब रेड क्रिसेन्ट उद्धार टोलीले घेराबन्दी गरेका छन् ।

पूर्ण रूपमा भत्किएको भवनको भग्नावशेषमुनि रहेका व्यक्तिको खोजीमा नागरिक सुरक्षा निकाय जुटेको उनले बताए । 

माजेह क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय, दूतावास र रेस्टुरेन्टहरू पनि छन् ।

“मैले पश्चिमी माजेह क्षेत्रमा विस्फोटको स्पष्ट आवाज सुनेको थिएँ र धुवाँको ठूलो बादल देखेको थिएँ,” स्थानीय प्रत्यक्षदर्शीले एएफपीसँग बताए ।

’यो आवाज क्षेप्यास्त्र विस्फोटसँग मिल्दोजुल्दो थियो र केही मिनेटपछि मैले एम्बुलेन्सको आवाज सुनें,” उनले भने।

एक दशकभन्दा लामो गृहयुद्धका क्रममा इजरेलले सिरियामा सयौं हवाई आक्रमण गरेको र त्यसमा मुख्यतया इरान समर्थित सेनाका साथै सिरियाली सेनाका स्थानहरूलाई लक्षित गरिएको छ ।

लेबनानको हिजबुल्लाह आन्दोलनजस्तै इरानको सहयोगी इजरेल र हमासबीच अक्टोबर ७ मा युद्ध सुरु भएयता उसले आक्रमणलाई तीव्र बनाएको छ ।

गत डिसेम्बरमा इजरेली हवाई आक्रमणमा इरानको रिभोल्युसनरी गार्ड्सका एक वरिष्ठ जनरलको मृत्यु भएको थियो ।

सन् २०२० जनवरी ३ मा बग्दादमा अमेरिकी ड्रोन आक्रमणमा सेनाका कमाण्डर कासिम सुलेमानीको मृत्यु भएपछि रजी मौसवी इरानबाहिर मारिएका सबैभन्दा वरिष्ठ कमान्डर हुन् ।

सोही महिनामा पूर्वी सिरियामा इजरेलले गरेको हवाई आक्रमणमा कम्तीमा २३ जना इरान समर्थक लडाकू मारिएको अब्जरभेटरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ