- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारका खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेश विजयी भएका छन् । गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । गण्डकीले बागमतीलाई तीन विकेटले हराएको हो । गण्डकीको यो दोस्रो जित हो ।
गण्डकी पाँच खेलमा चार अङ्क जोड्दै अङ्क ताकिलाको आठौँ स्थानमा छ । त्यस्तै बागमती सात खेलमा आठ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको खेलमा बागमतीले टस जितेर ४९ दशमलव एक ओभरमा सवै विकेट गुमाएर एक सय ९८ रन बनायो । एक सय ९९ रनको विजयी लक्ष्य गण्डकीले तीन बल बाँकी छँदा सात विकेट गुमाउँदै पूरा गर्यो ।
गण्डकीका लागि किरण पङ्गेनीले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ९८ बलमा ६ चौका र तीन छक्का हाने । यस्तै ईश्वर क्षेत्रीले ३६, मुस्कान थापाले २७, कमल परियारले २० तथा समिर कँडेलले १९ रन बनाए ।
बलिङतर्फ बागमतीका प्रतिश जिसीले दुई, रिजन ढकाल, सूर्य तामाङ र विपीन आचार्यले एक एक विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा बागमतीका लागि आँशुतोष घिरैयाले सर्वाधिक ४४ रनको योगदान दिए । त्यस्तै इशान पाण्डेले ४३, विपीन आचार्यले ३८, अशोक पौडेलले ३०, सूर्य तामाङले १५ तथा कप्तान रित गौतमले १३ रन बनाए । बलिङतर्फ गण्डकीका कमल परियारले चार, कप्तान विपीन खत्री र अमृत गुरुङले दुई÷दुई तथा सन्दीप पराजुलीले एक विकेट लिए ।
कर्णाली विजयी
कर्णाली प्रदेशले कोशी प्रदेशलाई हराएको छ । मूलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्यो ।
यससँगै तेस्रो जित हासिल गरेको कर्णालीले छ खेलपछि छ अङ्क जोडेको छ । सात खेल खेलेको कोशी प्रदेश अङ्कविहीन छ । कोशीले प्रस्तुत गरेको एक सय ५२ रनको लक्ष्य कर्णालीले २८ दशमलव तीन ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
कर्णालीका लागि अर्जुन घर्तीले ४८ बलमा छ चौका र दुई छक्काको मद्दतमा अविजित ५० रन बनाए । यसैगरी विपीन शाहीले २८, हिमाङ्शु शाहीले अविजित २४, निश्चल रावलले २१ तथा कप्तान रवीन्द्र शाहीले १२ रन बनाए ।
कोशीका लागि हेमन्त राईले तीन विकेट लिए भने कमल खत्रीले एक विकेट झारे ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोशीले ३४ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ५१ रन बनाएको थियो । उसका लागि सुजन थपलियाले ७३ बलमा आठ चौका र चार छक्काको मद्दतले ७३ रन बनाए । सौजन घिमिरेले १२ तथा आइश भट्टराईले ११ रन बनाए ।
कर्णालीका लागि दिनेश अधिकारीले चार विकेट लिए भने प्रकाश जैसीले तीन तथा दिवान पुनले दुई विकेट लिए ।