arrow

राष्ट्रिय सभा उपाध्यक्षको भूमिका शंकास्पद, विकलको घरमा छापा मार्दा अख्तियारसँग जम्काभेट  

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १२ शुक्रबार
urmila-aryal-rastriyasabha-vp.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मण्डिखाटारस्थित सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलको घरमा पुग्दा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्याल पनि त्यहीँ भेटिएकी थिइन् । 

अख्तियारले सुरक्षित मुद्रण केन्द्रमा भ्रष्टाचार भएको आरोपमा मुद्दा खेपिरहेका पौडेलको घरमा छापा मार्दा उपाध्यक्ष अर्याल त्यहाँ भेटिएकी स्रोतले जनाएको हो । 

अख्तियार उच्च स्रोतले दिएको जनाकारी अनुसार पौडेलको घरमा अख्तियारको टोली पुग्दा उनी झण्डावाला गाडीसहित त्यहीँ रहेकी थिइन् । ‘हाम्रो टोली विकललाई लिएर त्यहाँ पुग्दा अर्याल झण्डावाल गाडीमै त्यहाँ पुग्नु भएको रहेछ, अख्तियारको टोलीलाई उहाँले कुनै अवरोध त गर्नुभएन तर हाम्रो टोली जुन–जुन कोठामा पुग्यो उहाँ पनि त्यही कोठामा हेर्न पुग्नु भयो’ त्यसले हामीलाई शंसय उत्पन्न गराएको छ’, उच्च स्रोतले भन्यो । 

गत बुधबार अख्तियारको टोली मण्डिखाटारस्थित पौडेलको घरमा छापा मार्न पुगेको थियो । स्रोतका अनुसार अर्याल र पौडेल नातेदार हुन् । पौडेल नातामा छोरी ज्वाइँ पर्ने बुझिएको छ । 

अर्याल त्यहाँ देखेपछि उनको भूमिका शंकास्पद रहेको आयोगले जनाएको छ । पौडेल आफू राजनीतिक पहँुच भएको व्यक्ति बताउँदै अख्तियारलाई बयानका लागि छल्दै आएका थिए । 

उनलाई अख्तियाले निकै लामो समय रेकी गरेर पक्राउ गरेको थियो । विकल पौडेल र सुनील पौडेललाई अदालतले अनुसन्धानको लागि सात दिनको समय दिएको छ । 

नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र  सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार दिउँसो अलग–अलग स्थानबाट गाडीमा हिँडिरहेका बेला नियन्त्रणमा लिएको थियो ।

दुवै जना भ्रष्टाचार मुद्दामा मुछिएका व्यक्ति हुन् । मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको, कार्यालयको स्रोत साधन दुरूपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको शंकामा उनीहरु थप छानबिनमा तानिएका थिए । 

त्यही क्रममा बुधबार अख्तियारको टोलीले दुवैलाई पक्राउ गरी अख्तियारको हिरासत राखिएको छ । शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा अख्तियार टोलीले छापा मारी कागजात नियन्त्रणमा लिएको थियो । 

२०८० असोज १५ मा अख्तियारले सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन अध्यक्ष सञ्जय शर्मा, तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, केन्द्रका उप–निर्देशक सफल श्रेष्ठ, तत्कालीन सहायक निर्देशक रमेश पोखरेल र तत्कालीन लेखा अधिकृतहरु निमबहादुर वली र रामबहादुर बूढा तथा कम्प्युटर इन्जिनियर रामशरण गायक अर्थका बजेट महाशाखा प्रमुख मधु मरासिनी (सचिव निलम्वन) विरुद्ध मुद्दा दायर गरेको थियो । 

त्यस्तै २०८० वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैयाँ मागदाबीसहित अख्तियारले मुद्धा दायर गरेको थियो । 

कुनै जमानामा सरकार, संसद, अख्तियार र अदालत पकेटमा छन् भन्दै हिँड्ने पौडेलद्वय अहिले अख्तियारको फेला परेका छन् । 

विकल राष्ट्रिय सूचना प्रविधि केन्द्रको उपनिर्देशक हुँदा सर्वोच्च अदालतको आईटी सिस्टम, अख्तियारको सोलार सिस्टम, सरकारी निकाय र संसदमा हुने आईटीका खरिदको लागत अनुमान तयार र सेटिङ गर्ने भूमिकामा थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ