पेट्रोलको मूल्य घट्नासाथ कृत्रिम अभाव गर्ने पम्पहरूलाई कारबाही गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८३ असार १८ बिहिबार
199
Shares
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद कृष्णबहादुर रोकायले पेट्रोलियम पदार्थको कृत्रिम अभाव खडा गर्ने पेट्रोल पम्पहरूमाथि तत्काल कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले नेपाल आयल निगमले मूल्य घटाउनासाथ देशका विभिन्न भागमा पेट्रोल र डिजेल लुकाएर बिक्री वितरण बन्द गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
सांसद रोकायले मूल्य बढ्दा तत्कालै भार बोक्न बाध्य हुने जनताले मूल्य घट्दा राहत पाउनुपर्नेमा जोड दिए।
उनले भने, "यसरी कृत्रिम अभाव सिर्जना गर्नेहरूमाथि सरकारले तत्काल छानबिन गरी कानुन बमोजिम कडा कारबाही गरोस्।"
यसका साथै इन्धनको मूल्य घटिसकेको अवस्थामा सरकारले सार्वजनिक यातायात र हवाई उडानको भाडा समेत अविलम्ब पुनरावलोकन (घटाउन) गरी सर्वसाधारणलाई न्याय दिनुपर्ने माग गरे।