arrow

युवालाई कुलत त्यागेर खेलकुदमा जोड्न फुटबल प्रतियोगिता

logo
नारायण वली,
प्रकाशित २०८० माघ १३ शनिबार
pressmeet Fooodbal4.jpg

लुम्बिनी । स्वास्थ्यका लागि खेल अपरिहार्य मानिन्छ । खेलकै माध्यमबाट राष्ट्रलाई विश्वसामु चिनाएका उदाहरण धेरै छन् । तर नेपालमा खेल क्षेत्रमा संघसंस्था लगायत निजी क्षेत्रले विभिन्न प्रतियोगिता आयोजना गरी खेलाडीहरु उत्पादन गर्दै आएका छन् । जसले खेलप्रति रुची भए पनि खेल्ने अवसर नपाएकाहरुलाई प्राथमिकता दिएको छ ।

खेल खेल्ने वातावरण तल्लो तहदेखि उजागर भएका कारण धेरैले अवसर पाउने एउटा माध्यम बन्न पुगेको छ । सोही अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा १४ मा खेलमा भविष्य खोजेका युवाहरुलाई राम्रो आधार खडा गर्नुपर्छ भन्ने उद्देश्यका साथ नकआउट फुटबल प्रतियोगिता गरिने भएको छ ।

स्थानीय युवाहरु नकारात्मक कार्य र कुलतमा फस्दै गएकाहरुलाई खेलकुदमा जोडेर सकारात्मक कार्यमा लाग्न र मनोबल वृद्धि गराउन स्थानीय स्तरमा खुल्ला प्रतियोगितात्मक कार्यक्रम राख्दै आएको बताउँदै खेल खेल्नुपर्ने र अवलोकन गर्नुपर्छ भन्ने धारणा बसाल्न निरन्तर आफूहरु लागेको सन्जिवनी युवा क्लबका अर्जुन केसी (हापु) ले बताए ।

जिल्ला खेलकुद विकास समिति रुपन्देहीका सदस्यसमेत रहेका अध्यक्ष केसीले विभिन्न दाताहरुको आर्थिक सहयोगमा खेलकुद क्रियाकलाप गर्दै आएको जनाउँदै विशेष गरी समाजमा अतुलनीय योगदान पुर्याएका शहीदहरुको सम्झनामा यस्ता प्रतियोगिता गर्दै आएको उनले बताए ।

तिलोत्तमा नगरपालिका वडा १४ का स्व.डिमबहादुर गुरुङको स्मृतिमा आयोजना हुन लागेको छैटौँ फुटबल प्रतियोगिता २०८० को स्व. गुरुङकी छोरी श्रीमाया गुरुङद्धारा प्रायोजित हुने भएको छ ।

माघ १६ गतेदेखि शुरु हुने प्रतियोगिताको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।  तिलोत्तमा नगरपालिका वडा १४ बागधुरा देवीनगरमा आयोजना गरिएको सम्मेलनमा विजेता टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ, उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, प्रमाणपत्र प्रदान गरिने जानकारी गराइएको थियो । 

खेलकुदतर्फ दक्ष जनशक्ति उत्पादनसँगै युवालाई आकर्षण गर्ने उद्देश्यले नेपालमा खेलकुद व्यवस्थापनलाई फराकिलो बनाउन राज्यले पनि ध्यान दिनुपर्नेमा जोड दिँदै गण्डकी विश्वविद्यालयले खेलकुद व्यवस्थापनको औपचारिक अध्यापन थालेको र यसैगरी लुम्बिनी प्रदेशले पनि योजना अगाडि बढाएमा लुम्बिनीलाई खेल क्षेत्रको हब बनाउन सकिने र खेलाडी उत्पादनमा टेवा पुग्ने जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष लोक पुनले बताए ।

उनी भन्छन्, 'प्रतिस्पर्धा गर्न आर्थिक समस्याले राम्रा र सक्षम खेलाडीहरु ग्रामीणस्तरमा पछाडि परिरहेको अवस्थामा ग्रामीण क्षेत्रमा हुने यस्ता प्रतियोगिता निकै लाभदायक हुन्छन् ।' 

स्व. गुरुङकी छोरी श्रीमाया गुरुङले आफ्ना बुबाले गरेको सामाजिक कामलाई जीवन्त राख्न आफूहरुले बुबाको सम्झनामा यहाँका युवाहरुलाई खेलकुदमा प्रेरित गर्ने अभिप्रायले सन्जिवनी क्लबले आयोजना गरेको प्रतियोगितालाई प्रायोजन गरेको बताइन् । त्यस क्षेत्रमा फुटबल समर्थकहरुका लागि माघ १६ गतेदेखि विशेष हुनेछ ।

कोरोना भाइरसको महामारीका कारण दुईपटक स्थगित गरेको क्लबले छैटौँ प्रतियतेगिता आयोजना गर्ने भएको हो । नयाँ वातावरणमा युवालाई अवसर दिने गरी बर्सेनि यस्ता प्रतियोगिता गर्दै आएको क्लबले जनाएको छ । जिल्लाका १२ ओटा टिमले सहभागीता जनाउने प्रतियोगिता ७ लाख ९१ हजार ६ सय ६६ रुपैयाँ अनुमानित लागतमा गर्न लागेको संयोजक खिमबहादुर थापाले जनाए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ