arrow

फिफा विश्वकप २०२६ 

एम्बाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’, मेस्सीलाई उछिन्दै बने सर्वाधिक गोलकर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ४ सोमबार
kaylian-mbappe-france-hat-trick.jpg

काठमाडौँ । फ्रान्सका स्टार फर्वार्ड किलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ को उत्कृष्ट गोलकर्ता बन्दै ‘गोल्डेन बुट’ उपाधि जितेका छन्। कतार विश्वकप २०२२ मा ८ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका एम्बाप्पेले लगातार दोस्रो संस्करणमा पनि यो प्रतिष्ठित पुरस्कार आफ्नो नाममा सुरक्षित राख्न सफल भएका हुन्।

आइतबार मियामीमा भएको तेस्रो स्थान (कांस्य पदक) का लागि खेलिएको निकै रोमाञ्चक खेलमा फ्रान्स इङ्गल्याण्डसँग ६–४ ले पराजित भए पनि एम्बाप्पेले दुई गोल थप्दै यस संस्करणमा आफ्नो व्यक्तिगत गोल सङ्ख्या १० पुर्‍याए।

यस विश्वकपमा १० गोल र ४ असिस्ट (गोलका लागि पास) पूरा गरेका २७ वर्षीय एम्बाप्पेले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट पक्का गरेका हुन्। मेस्सी ८ गोल र ४ असिस्टसहित दोस्रो स्थानमा रहे भने इङ्गल्याण्डका मिडफिल्डर जुड बेलिङ्घम ७ गोल र १ असिस्टसहित तेस्रो स्थानमा समेटिए।

यस संस्करणको उत्कृष्ट प्रदर्शनसँगै एम्बाप्पे पुरुष फिफा विश्वकप इतिहासमै कुल २२ गोलसहित सर्वकालीन सर्वाधिक गोलकर्ता (अल-टाइम टप स्कोरर) समेत बनेका छन्। उनले २१ गोल गरेका अर्जेन्टिनी दिग्गज लियोनल मेस्सीको कीर्तिमानलाई भङ्ग गरेका हुन्। प्रतियोगिताभरिको उत्कृष्ट प्रदर्शनका लागि एम्बाप्पेले ‘ब्रन्ज बल’ समेत प्राप्त गरे।

विश्वकपभर उत्कृष्ट लयमा देखिएका एम्बाप्पेले समूह चरणमा सेनेगल र इराकविरुद्ध समान २–२ गोल तथा प्रि-क्वार्टरफाइनलमा स्विडेनविरुद्ध २ गोल गरेका थिए। त्यसपछि उनले क्वाटरफाइनलमा पाराग्वेविरुद्ध निर्णायक पेनाल्टी प्रहार गरे भने मोरक्कोविरुद्धको २–० को जितमा पहिलो गोल गरेका थिए।

सेमिफाइनलमा स्पेनविरुद्ध गोल गर्न नसकेका उनले इङ्गल्याण्डविरुद्धको तेस्रो स्थानको भिडन्तमा पुनः २ गोल थपेका थिए। उनको उत्कृष्ट कप्तानीमा फ्रान्स सेमिफाइनलसम्म पुगेको थियो, जहाँ टोली स्पेनसँग २–० ले पराजित भएको थियो।

गोल्डेन बुट जितेपछि प्रतिक्रिया दिँदै रियल म्याड्रिडका स्टार एम्बाप्पेले आफ्नो प्राथमिकता व्यक्तिगत पुरस्कार जित्नुभन्दा टोलीलाई फाइनलमा पुर्‍याउनु रहेको बताए। उनले भने, ‘विश्वकपमा यति धेरै गोल गर्नुले पक्कै पनि नयाँ उचाइमा पुर्‍याउँछ। तर म सर्वाधिक गोलकर्ता बन्नुको साटो टोलीसँगै फाइनल खेल्न बढी रुचाउँथेँ। संन्यासपछिको खेल जीवनको विरासतका लागि यो राम्रो हो, तर अहिले मेरो मनमा त्यो सोच छैन।’

फ्रान्सका निवर्तमान मुख्य प्रशिक्षक डिडिएर डेसक्याम्पसले एम्बाप्पेको कप्तानी र खेलको प्रशंसा गर्दै उनलाई एक असाधारण खेलाडी र अनुकरणीय कप्तानको संज्ञा दिए। उनले १८ वर्षको उमेरदेखि नै एम्बाप्पे टोलीको मुख्य खम्बा रहँदै आएको र मैदान भित्र तथा बाहिर उनको भूमिका उदाहरणीय रहेको बताए।

फिफाको गोल्डेन बुट वितरण नियम अनुसार, यदि दुई वा दुईभन्दा बढी खेलाडीको गोल सङ्ख्या बराबर भएमा सबैभन्दा बढी असिस्ट गर्ने खेलाडी विजेता बन्नेछ। यदि असिस्ट पनि बराबर भएमा मैदानमा सबैभन्दा कम समय बिताएको खेलाडीलाई पहिलो स्थान दिइने व्यवस्था छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ