arrow

जल्दै गरेको शव बेपत्ता, मलामीको भागाभाग

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १४ आइतबार
chita.jpg
फाइल तस्बिर

सोलुखुम्बु । खोलामा पानीको बहाव बढ्दा जलाउँदै गरेको शव बगाएको छ भने मलामीको भागाभाग भएको छ ।  लिखु ‘२’ जलविद्युत् आयोजनाको विद्युत् मेसिन एक्कासि बन्द भएर खोलामा पानीको बहाव बढ्दा जलाउँदै गरेको शव बगाएको हो ।  मलामीले भने भागेर ज्यान जोगाएका छन् ।  

सोलुखुम्बु र रामेछापको सिमानामा पर्ने उक्त आयोजनाको मेसिन बन्द भएर बाँधको पानी खोलातर्फ नै फर्किदा जलाउँदै गरेको रामेछापको उमा कुण्ड गाउँपालिका–१ का ३२ वर्षीय झपडबहादुर थापाको शव बगाएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । 

रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शनिबार साँझ आयोजनाको मेसिन बन्द हुँदा बाँध एक्कासि रोकिएर पानी खोलातर्फ नै फर्किदा उमाकुञ्ड गाउँपालिका–१ बाल्दिङ स्थित खोलामा जलाउँदै गरेको शव बगाएको हो । 

उनले भने, “हामीलाई प्राप्त जानकारीअनुसार मेसिन ट्रिप खाएर, बाँधको पानी खोलातर्फ फर्किदा खोलामा जलाउँदै गरेको शव बगाएर बेपत्ता भएको रहेछ, यस विषयमा हामी अनुसन्धान गर्दै छौँ ।” 

आधा जलिसकेको शव खोलाले बगाएर बेपत्ता बनाएको छ भने मलामीले भागेर ज्यान जोगाएको लिखुपिकेका राजेन्द्र बस्नेतले बताए । उनले भने, “यो आयोजनाको लापरबाही हो, मलामी गएका केही मानिस पनि सम्पर्कमा आएका छैनन्, यो विषयमा हामी जानकारी लिँदै छौँ ।” घटनास्थल रामेछापमा पर्ने भए पनि सोलुखुम्बुको सिमाना भएकाले प्रहरी चौकी किन्जाबाट प्रहरी टोली खटिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री) ले जानकारी दिए । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । आयोजनाका सम्पर्क अधिकृत दीपक नेपालका अनुसार विद्युत् मेसिन एक्कासि बन्द भएर बाँधतर्फको पानी खोलामा नै फर्किदा उक्त घटना भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ