arrow

नेपाल-भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल शुरु भइसक्यो: परराष्ट्रमन्त्री [भिडियो]

सरकारले हाइड्रो इनर्जीलाई बिस्तार गरी भारत, बङ्गलादेशसँग विद्युत् व्यापार बढाउनुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १५ सोमबार
saud-np-india.jpg

काठमाडौँ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल-भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल शुरु भइसकेको बताएका छन् । सोमबार भारतको ७५ औँ गणतन्त्र दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए । मन्त्री साउदले सिमानाको समस्या समाधान गर्दा राजनैतिक रूपमा सहमति हुनुपर्ने बताए । 

उनले प्रशासनिक रूपमा रहेको मेकानिजम पनि क्रियाशील भई अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कूटनीतिक पहल चलिरहेको बताए । उनले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता भएको बताए ।

उनले भने, ‘हाम्रो प्रधानमन्त्रीज्यू भारत भ्रमणको बेलामा स्पष्ट रूपमा भारतीय प्रधानमन्त्रीज्युले भन्नुभएको छ, हामी नेपाल–भारतको बीचमा सिमानाका केही समस्या छन् भनेपनि हामी यसलाई बसेर समाधान गर्दछौँ, भन्नुभएको छ । सिमानाको समस्या समाधान गर्दा राजनैतिक रूपमा सहमति हुनुपर्छ, हामीसँग प्रशासनिक रूपमा पनि मेकानिजम छ । त्यो मेकानिजम क्रियाशील हुनुपर्छ । त्यो क्रियाशील भइसकेपछि तथ्यको आधारमा दुई वटै छिमेकीले एक आपसमा कूटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ । यो कुरा दुवै देशको बीचमा शुरु भइसकेको छ । भर्खरै मात्र भारतका परराष्ट्र मन्त्रीको नेपाल भ्रमणको सिलसिलामा पनि हामीले दुवै देशको बीच्मा वार्ता, छलफलको प्रक्रियाबाट यो समस्याको समाधान गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गरिसकेका छौँ ।’

मन्त्री साउदले अहिले आर्थिक चुनौती भोगिरहनु परेको बताए । उनले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई बिस्तार गरी भारत, बङ्गलादेशसँग विद्युत् व्यापार बढाउनुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय समुदायले नै प्रतिबद्धता क्लिन इनर्जी रहेकाले नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए ।

उनले भने, ‘अब कुरा रह्यो आर्थिक चुनौतीको । हामीसँग तीन चार वटा कुरा छन् । जसमा नेपाल भाइब्रेट छ । पहिलो कुरा हामीसँग भएको हाइड्रो इनर्जी । भारत, दुनियाँका जुनसुकै देशले पनि अन्तर्राष्ट्रिय प्रतिबद्धता के कुराका लागि गरेका छन् भने अब उनीहरूले जैविक इन्धनलाई लामो समयसम्म प्रयोग गर्न सक्दैनन् । उनीहरूको सबैको प्रतिबद्धता पानीबाट चल्ने, हावाबाट चल्ने वा सोलार इनर्जी । जो क्लिन इनर्जी छ, त्यसको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता बढेको छ । नेपाल त्यसको सबैभन्दा ठुलो श्रोतको रूपमा छ । १ लाख मेगावाटसम्मको राम्रोसँग सर्वे गरी देखाउन सक्यौँ भने त्यो राम्रो हुनेछ ।’

मन्त्री साउदले नेपालले १ लाख मेगावाटसम्मको विद्युत् उत्पादन गर्नका लागि अध्ययन गरेर अघि बढ्न जरुरी रहेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ