तन जलेको कुरामात्र होइन मन जलेका पीडा पनि सुन्नुपर्छ : सांसद बास्कोटा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३० मंगलबार
294
Shares
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बास्कोटाले नागरिकको पीडा र मृत्युका घटनालाई राजनीतिक आरोप-प्रत्यारोपको विषयमात्र नबनाउन आग्रह गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले पछिल्लो समय विभिन्न स्थानमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्रलाई सत्ता पक्ष र प्रतिपक्षबीचको प्रतिस्पर्धामा मात्र सीमित गर्न नहुने बताइन्।
संसद् आउँदै गर्दा एक आमाले दिएको चिरकट्टो सुनाउँदै भनिन्, ‘तन जलेको कुरा मात्र हुन्छन्, मन जलेका कुरा कहाँ भयो र खोई? तन पछि मात्र जलेको हो हजुर, पहिला जल्ने त मन नै हुन्छ।’
बास्कोटाले नागरिकको ज्यान सुरक्षाको जिम्मेवारी सरकारसँगै प्रतिपक्ष र सबै जनप्रतिनिधिको पनि भएको बताइन्।
‘लोकतन्त्र कुनै दुई ध्रुवबीचको प्रतिस्पर्धा मात्र होइन, यो सबैको सहभागिता, सहमति, असहमति र उत्तरदायित्वको साझा अभ्यास हो,’ उनले भनिन्, ‘हामी सबै जनताका प्रतिनिधि हौँ। जनता प्रतिको उत्तरदायित्व हाम्रो साझा दायित्व हो।’
उनले सरकारको आलोचना प्रतिशोधका लागि नभई सुधारका लागि हुनुपर्ने बताउँदै सत्ता पक्षकै सांसद भएर पनि आवश्यक पर्दा सरकारलाई खबरदारी गर्ने र राम्रो कामको प्रशंसा गर्ने धारणा राखिन्।
देशको अवस्थालाई लामो समयदेखि रिभर्स गियरमा अड्किएको गाडीसँग तुलना गर्दै उनले वर्षौँदेखि कमजोर बनेका संरचना सुधार गर्न समय लाग्ने बताइन्।
‘एक सय नौ दिनमा सरकारले सुशासनको जग हाल्ने प्रयास गरेको छ। वर्षौँ थिलथिलो बनाएको देशको जग मजबुत बनाउन समय लाग्छ, धैर्यता चाहिन्छ,’ उनले भनिन्।
उनले नागरिकको मृत्युका घटनामा राजनीतिक लेप लगाउनुभन्दा भविष्यमा यस्ता घटना दोहोरिन नदिने विषयमा बहस केन्द्रित गर्नुपर्ने बताइन्।
‘बहस आरोप-प्रत्यारोपमा होइन, अब यस्ता घटना नहुन नदिनमा गरौँ,’ बास्कोटाले भनिन्। उनले राज्य र समाजले नागरिकका मौन पीडा र अदृश्य संघर्षलाई बुझ्ने संवेदनशीलता विकास गर्नुपर्नेमा जोड दिइन्।