बिदाका दिन सरकारी सवारीसाधनको दुरुपयोग रोक्न सांसद सडकमा
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
661
Shares
सप्तरी। सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै सप्तरीमा मधेस प्रदेशसभा सदस्य सडकमा उत्रिएका छन् ।
सप्तरीको कल्याणपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आयोजित एक कार्यक्रममा मधेस प्रदेशसभा सदस्य माला कर्ण सडकमै उत्रिएर सवारी साधन रोकेकी हुन् ।
सार्वजनिक बिदामा बिनापासका सवारीसाधन चलाउनेविरुद्ध नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान शाखा सप्तरीले गरेको सडक कार्यक्रममा उनी सहभागी भइन् ।
प्रतिष्ठानका शाखा सचिवसमेत रहेकी सांसद कर्णले भनिन्, “सरकारी सम्पत्ति सरकारी कामका लागि मात्र उपयोग हुनुपर्छ, बिदाका दिन सरकारी सवारी दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ ।”
बिदाका दिन सरकारी सवारी रोक्नसके पनि धेरै फजुल खर्च कम गर्न सकिने उनले बताइन् ।
प्रतिष्ठानले शनिबार दिउँसो तीन घण्टा सरकारी नम्बरको सवारी रोक्दै सार्वजनिक बिदाका दिन बिनाअनुमतिका सवारी नचलाउन आग्रह गरेको छ ।
बिदाका दिन सरकारी सवारी लिएर डुल्न जाने, सामान किनमेल गरी ओसार्न प्रयोग गर्ने र व्यक्तिगत काममा प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सडक कार्यक्रम गरिएको प्रतिष्ठानका सप्तरी अध्यक्ष ध्रुवकुमार मण्डलले बताए ।