शीतलहरको कहर: राजविराजसहित सप्तरीका तीन पालिकामा विद्यालय बिदा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १५ मंगलबार
899
Shares
काठमाडौँ । सप्तरीमा बढ्दो शीतलहर र चिसोका कारण जनजीवन कष्टकर बन्दै गएपछि यहाँका स्थानीय तहले विद्यालयहरूमा बिदा दिन थालेका छन्। राजविराज नगरपालिका, महादेवा र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले चिसोबाट बालबालिकालाई जोगाउन आगामी पुस १६ देखि १८ गतेसम्म तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्।
राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवका अनुसार चिसोको लहर बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाभरिका सबै विद्यालयमा बिदा दिइएको हो। यस्तै, महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डल र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरीले पनि सूचना जारी गर्दै सामुदायिक, धार्मिक तथा संस्थागत सबै विद्यालयहरू तीन दिनका लागि बन्द रहने जानकारी दिएका छन्। यसअघि डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले पाँच दिन तथा बोदेवरसाइन नगरपालिकाले पनि जाडो बिदा दिइसकेका छन्।
जिल्लामा बिहान-बेलुका बाक्लो हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने क्रम बढेपछि बालबालिका, वृद्धवृद्धा र पशुचौपाया सबैभन्दा बढी प्रभावित भएका छन्। चिसोका कारण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगायत जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरूमा रुघाखोकी, ज्वरो र दमका बिरामीहरूको चाप उल्लेखनीय रूपमा बढेको अस्पताल प्रशासनले जनाएको छ।