arrow

भूकम्प पुनः निर्माणसम्बन्धी एकीकृत कार्यविधि बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २१ आइतबार
earthquake-jajarkot-rukum-2023-2080.jpg

काठमाडौँ।  राष्ट्रिय विपद् जोखिम न्यूनकरण तथा व्यवस्थापन प्राधिकरण भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी कार्यविधि निर्माणमा जुटेको छ । विसं २०७२ को भूकम्पपछि बनाइए पनि पछि नयाँ कार्यविधि नबनेकाले यसपटक एकीकृत कार्यविधि निर्माणमा प्राधिकरण जुटेको हो । 

तत्कालीन समयमा पुनःनिर्माण प्राधिकरका धेरै जिम्मेवारी विपद् प्राधिकरणमा हस्तान्तरण गरिएको थियो । त्यसपछि भूकम्प पुनःनिर्माणको कार्यविधि नै नबनेकाले पहिलो पटक कार्यविधि निर्माण हुँदैछ । त्यसबेला सङ्घमार्फत नै पुनःनिर्माणको काम अघि बढाइएको थियो । 

यसपटक स्थानीय तहलाई मुख्य जिम्मेवारी दिएर काम अघि बढाउने गरी कार्यविधि निर्माण भइरहेको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख, सहसचिव भरतमणि पाण्डेले जानकारी दिए । 

“हामीले स्थानीय तहलाई बढी जिम्मेवार र भूमिका दिनेगरी पुनःनिर्माणका लागि एकीकृत कार्यविधि अन्तिम चरणमा पु¥याएका छौँ”, उनले भने, “पहिला बनेको कार्यविधिमा प्रदेश, स्थानीय सरकार खासै सहभागी थिएनन् । यसपाली स्थानीय सरकारमार्फत काम गर्नै गरी कार्यविधि अघि बढाएका छौँ ।” 

यसपटक प्रवलीकरण, पुनःनिर्माण र पुनःस्थापनलाई छुट्टाछट्टै व्यवस्था गरिने जनाइएको छ । कस्तो अवस्थामा प्रवलीकरण हुने, कस्तो अवस्थामा पुनःनिर्माण र कस्तो अवस्थामा पुनःस्थापना गरिने भनेर छट्टै व्यवस्थासहितको एकीकृत कार्यविधि तयार पारिने प्राधिकरणले जनाएको छ ।

पुनःनिर्माणको कामसहितको कार्यविधि निर्माणका लागि प्राधिकरणको टोली केहीअघि मात्रै भूकम्प प्रभावित क्षेत्रमा पुगेर सुझाव सङ्कलन गरी फर्किएको छ । स्थलगत अवलोकनपछि आएको सुझावलाई समावेश गरी कार्यविधि निर्माण हुने प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए । 
 
कार्यविधि अन्तिम चरणमा रहेकाले चाँडै गृहमन्त्रालयमा पठाइने र मन्त्रालयको राय लिएर कार्यविधिलाई अन्तिम रुप दिने तयारीमा रहेको प्राधिकरणले जनाएको छ । कात्तिक १७ गते आएको जाजरकोट भूकम्पमा ८० हजार घर भत्किएका छन् । अहिले अस्थायी आवास निर्माणको काम जारी रहेको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ