- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा खानेपानीमन्त्री महिन्द्र राय यादवले नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रको एकता प्रक्रिया अगाडी बढ्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले माओवादी केन्द्रको आगामी विधान अधिवेशनपछि नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रका बीचमा एकता प्रक्रिया अगाडी बढ्ने बताएका हुन् ।
उनले नेसपा र माओवादी केन्द्रबीच एकता भएर एकता महाधिवेशनको प्रक्रिया अगाडी बढ्ने बताए । उनले नेसपाको सर्वसम्मत निर्णय नै माओवादीसँग एकताका लागि वार्ता, संवाद गर्ने भएको भन्दै सो निर्णय अनुरूप काम भइरहेको बताए । उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने भन्दै अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पनि एकताको लागि तयार रहेको बताए ।
उनले भने – ‘हाम्रो पार्टीको एक लाइन नै हो । केन्द्रीय कमिटीको सर्वसम्मतबाट निर्णय भएको छ । माओवादीसँग वार्ता गर्ने, संवाद गर्ने । त्यसको लागि डा. बाबुराम भट्टराईको नेतृत्वमा ६ सदस्यीय संयोजन समिति बनेको छ । माओवादीको प्रधानमन्त्री प्रचण्डजीको नेतृत्वमा बनेको छ । अब त्यसलाई पूर्णता दिएर औपचारिक बैठक बस्छौँ । हामीले लिखित रूपमा ९ बुँदा दिएका छौँ । त्यसको बारेमा छलफल हुन्छ । माओवादीको विधान अधिवेशन हुँदैछ । विधान अधिवेशनबाट उहाँहरुले जुन जुन अस्ति निर्णय गर्नुभयो । त्यसलाई कार्यान्वयन गर्नेतिर अगाडी बढ्छ । त्यसपछि हाम्रो उनहरुसँग फेरि औपचारिक छलफल हुन्छ । त्यसबाट हामी टुङ्गो लगाएर अगाडी बढ्छौँ । हाम्रो प्रयास हुन्छ कि, अब हामी टुङ्गो लगाएर, मिलाएर, माओवादी र हाम्रो एकताको महाधिवेशनतिर प्रक्रिया अगाडी बढ्छ भन्ने मलाई विश्वास छ । उन(डा. बाबुराम भट्टराई) नै संयोजक हुनुहुन्छ । उन तयार नै हुनुहुन्छ नि । अस्तिको निर्णय त सबैले पालना गर्नुपर्ने हो । पार्टीको सर्वसम्मत निर्णय हो । यसमा दबाब दिने कुरा नै हुँदैन नि । माओवादीको विधान अधिवेशन सकिएपछि संयोजन समितिको बैठक बस्छ । त्यो बैठकपछि हाम्रो प्रक्रिया अगाडी बढ्छ । हामी चाहन्छौँ कि माओवादीको महाधिवेशन र हाम्रो महाधिवेशन सँगै होस् भन्ने प्रयास जारी रहन्छ ।’
उनले माओवादी केन्द्रको विधान अधिवेशनपछि संयोजन समितिको बैठक बसेर सबै कुरा टुङ्ग्याउने जानकारी दिए ।