arrow

माओवादीले पार्टी सांसदलाई प्रशिक्षण दिने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
maoist-party-meet.jpg

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले आगामी आर्थिक वर्षको लागि बजेटका सिद्धान्त र प्राथमिकताकारबारे संसद्मा छलफल गर्नु पूर्व पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले संसदीय दलको बैठकमा तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी सांसदहरूलाई निर्देशन दिएको बताए । उनले सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताकामारे छलफल गराउन लागेको र सो बारेमा संसदमै छलफल गर्नु अगाडि दलका सांसदहरूलाई अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको बताए । 

उनले फागुनको १४ भन्दाअघि नै प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय भएको बताए । उनले बैठकमा अध्यक्ष दाहालले सरकारले अघि बढाएका सुशासन, समृद्धि र सामाजिक न्यायकाबारे आवाज उठाउन सदस्यहरूलाई निर्देशन दिएको बताए । बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट विजयी सदस्यहरूलाई शुभकामना दिने निर्णय गरेको बताए ।

उनले भने, ‘हाम्रो संसदीय दलको बैठक हिजो र आज गरी दुई दिन बस्यो । बैठकले तेस्रो अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारेमा प्रधानमन्त्रीज्युले दलका सदस्इहरुलाई निर्देशन गर्नुभयो । सरकारले यही अधिवेशनमा सरकारको बजेटका सिद्धान्त र प्राथमिकताकामारे छलफल गराउँदै छ । त्यो छलफल गर्नुभन्दा अघि नै हाम्रो दलका सबै मान्य सदस्यहरूलाई त्यसको बारेमा राम्रो स्पष्ट बनाउनका लागि अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रम छन् । फागुनको १४ भन्दाअघि नै सम्पन्न गर्ने निर्णय गरेको छ । जनताका सुझावसहित बजेटलाई व्यवस्थित गर्ने, अलि ठुलो रकम संघीय तहबाट दिने, सानो रकम प्रदेश र स्थानीय तहलाई दिने र प्रक्रियाबारेमा बुझ्नका लागि प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रम महत्त्वपूर्ण हुन्छ । विषयगत समिति, संयुक्त समिति सभाहरूमा राम्रो तयारीका साथ प्रस्तुत हुन र खास गरी सरकारले अघि बढाएका सुशासन, समृद्धि र सामाजिक न्यायकाबारे आवाज उठाउन सदस्यहरूलाई निर्देशन दिनुभयो । राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट एक जना कोशी प्रदेशमा उम्मेदवार चम्पा कार्की बाहेक सबैलाई बधाई ज्ञापन गर्ने र उहाँहरुको सफलताको शुभकामना ज्ञापन गर्ने निर्णय भयो । यो सदनलाई प्रभावकारी बनाउन भनेर दुवै सदनमा कार्यान्वयन गर्न सत्ता पक्षको दलका नेतृत्व गरिरहेको दलका मान्यहरुले मुख्य कदम लिनुपर्ने निर्णय भएको छ ।’

प्रमुख सचेतक पाण्डेले सदनलाई प्रभावकारी बनाउन क्यालेण्डर निर्माण गरिएको सो क्यालेण्डर दुवै सदनमा कार्यान्वयन गर्न विशेष जोड दिन पनि अध्यक्ष दाहालले निर्देशन दिएको बताए ।
 



नयाँ