माओवादी केन्द्रका सांसद पाण्डेलाई क–कसले दिए श्रद्धाञ्जलि ?
प्रकाशित २०७३ कार्तिक ३० मंगलबार
1.5k
Shares
काठमाडौं । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रका नेता तथा सांसद भक्तिप्रसाद पाण्डेलाई श्रद्धाञ्जलि दिएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार भएको श्रद्धाञ्जलि सभामा प्रधानमन्त्री दाहालले पार्टीको झन्डा ओढाएर पाण्डेलाई श्रद्धाञ्जलि दिए । एक वर्षदेखि अर्बुद रोगबाट पीडित पाण्डेको सोमबार ललितपुरस्थित क्यान्सर अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो ।
विसं २०११ पुस ५ गते बुबा प्रजापति पाण्डे र आमा योगमायाको कोखबाट जन्मेका पाण्डे लामो समयदेखि अर्बुद रोगको समस्याबाट ग्रसित थिए । पाण्डे विद्यार्थीकाल देखिनै क्रान्तिकारी संगठनहरुमा लागेका थिए । मोहनविक्रम सिंहको मसालमा समेत लामो समयसम्म रहेका पाण्डे माओवादी युद्धकालमा भारतबाट हतियार ल्याउने देखि सारा बन्दोबस्त गर्ने काम गरेका बताइन्छ ।
श्रद्धाञ्जली दिन सभामूख ओनसरी घर्ती, मन्त्रीहरु जनार्दन शर्मा प्रभाकर, हितराज पाण्डे, अजयशंकर नायक, दलजित श्रीपाइली, नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, पूर्वसभामूख सुवास नेम्वाङ, नेताहरु टोपबहादुर रायमाझी, वर्षामान पुन, गीरिराजमणि पोखरेल, अमिक शेरचन, पम्फा भुसाल, अग्नी सापकोटा, शक्ति बस्नेत, मातृका यादव, महेन्द्र राय यादव, चक्रपाणि खनाल, हिसिला यमी लगायतको उपस्थिति थिए ।
सांसद पाण्डेको निधनप्रति माओवादी केन्द्रले शोक वक्तव्य जारी गर्दै आफन्तजन, शुभेच्छुक र सहयोद्धालाई धैर्यधारण गर्न अपील गरेको छ ।