arrow

एसीसी महिला प्रिमियर कपमा हङकङलाई जित्न नेपाल ९४ रनको चुनौती पछ्याउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २७ शनिबार
t20-newpal-hongkong-2024-02.jpg

काठमाडौँ । आजदेखि मलेसियामा एसीसी महिला प्रिमियर कप शुरु भएको छ । नेपालले आफ्नो पहिलो खेलमा हङकङविरुद्ध खेलिरहेको छ । टी–२० फर्म्याटमा भइरहेको खेल विजयका लागि नेपालले ९४ रनको चुनौती पछ्याइरहेको छ । 

खेलमा पहिले ब्याटिङ गरेको हङकङले कप्तान चाङ का यिङ करीको २१ रनको मद्धतले ८ विकेटको क्षतिमा ९३ रन बनायो । नेपालका लागि पूजा महतो र रुबिना क्षेत्रीले समान २ विकेट लिए । कविता जोशी र सीता राना मगरले १–१ विकेट लिए । 

यस प्रतियोगितामा नेपाल समूह डी मा रहेको छ । समूह डीमा नेपालसहित हङकङ, माल्दिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल आज हङकङसँग खेल्ने छ भने दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल माल्दिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।

एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्याण्ड, यूएई, इन्डोनेसिया, हङकङ, चीन, म्यान्मार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्स रहेका छन् ।

यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एसिया कप २०२४ मा छनोट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंङ एसिया कप २०२५ मा छनोट हुने छन् ।

एसीसी महिला प्रिमियर कप फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदैछ । क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिम मलेसिया पठाएको छ । 

नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगीता राई, अप्सरा बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् ।

त्यसैगरी महिला टिमको हेड कोचमा मनोज कटवाल, साहकी कोचमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा अम्बिका बुढाथोकी रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ